आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मी सहित मेयर

अत्रिदेव खबर\१८जेठ
घोडाघोडी ः कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी स्वास्थ्यकर्मीको टोली सहित सङ्क्रमितका घरघरमा पुग्नुभएपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटेपनि रोकिन सकेको छैन भने मृत्युको क्रम पनि जारी नै छ । सक्रिय कोरोना सङ्क्रमित होम आइसुलेशनमा बस्दा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड,ध्यान दिनुपर्ने खानपिनका जानकारी तथा औषधी भएको नभएको लगायतका विषयमा जानकारी दिनुका साथै सङ्क्रमण देखिएर होम आइसोलेसनमा बसिरहनु भएकाहरूको आत्मबल बढाउन आफूहरू सङ्क्रमितकै घरसम्म पुगेको नगरप्रमुख ममता प्रसाद चौधरीले जानकारी बताउनुभयो ।
सङ्क्रमण देखिसकेपछि घरमै होम आइसोलेसनमा बसिरहँदा अनेक किसिमका कुराहरू मनमा खेल्ने तथा डर पैदा हुने भएका कारण त्यस किसिमका तनाव नलिई स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्न तथा जानकारी दिन जादा सङ्क्रमितहरूमा सकारात्मक सन्देश गएको नगरप्रमुख ममता प्रसाद चौधरीले बताउनुभयो ।
केही सङ्क्रमितहरूलाई पालिकामा आवश्यक मात्रामा अक्सिजन नभएकोले आफूहरूको स्वास्थ्यमा बढी समस्या देखिदा गाह्रो हुन्छ भन्ने चिन्ता रहेछ हामीले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन, स्वास्थ्यकर्मीको व्यवस्था रहेको जानकारी दिँदै अलि समस्या देखिए सम्पर्क अनुरोध ग¥यौ यसले पनि सङ्क्रमितहरूमा ऊर्जा थपिएको महसुस भएको नगर प्रमुख चौधरीले बताउनुभयो ।
स्वास्थ्यकर्मीको टोली सहित आफ्नो घरमा नगरप्रमुख ज्यु आउँदा आफूहरूमा ऊर्जा थपिएको घोडाघोडी नगरपालिका–१० का एक सङ्क्रमितले बताउनुभयो । गाउँघरमै धेरै जनाको ज्यान लिइसकेको महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमण आफूलाई देखिदा निकै तनावमा थिए तर आज उहाहरु आएर स्वास्थ्य उपचारका लागी चिकित्सकदेखि अक्सिजनसम्म आफ्नै पालिकामा भएको र समस्या परे खबर गर्न अनुरोध गरेपछि केही चिन्ता र तनाव घटेको उहाँले बताउनुभयो ।
आफूहरूले संक्रमितसंगको भेटसँगै स्थानीय बासिन्दालाई कोरोना सङ्क्रमणबाट सुरक्षित रहन भिडभाड हुने गतिविधि नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सरसफाइमा ध्यान दिन आग्रह गदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताउनुभयो । स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले सङ्क्रमितको स्वास्थ्य स्थिति बुझ्न सङ्क्रमितको घरदैलोमा पुगेको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताउनुभयो ।
हालसम्म नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना भाइरसबाट घोडाघोडी नगरपालिकामा मा एक सय ५ जना सक्रिय कोरोना सङ्क्रमित होम आइसुलेशनमा बस्दै आउनुभएको अस्थायी कोरोना अस्पतालमा अहिले चार जनाको उपचार भइरहेको तथा अहिले सम्म ८५ जना निको भइसक्नु भएको तथा सङ्क्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर