छाडा गाईको बिजोक

अत्रिदेव खबर\४असोज
सुखड ः कैलाली जिल्लाका विभिन्न पालिकामा रहेका छाडा चौपाया स्थानीयवासीको कुटाइ र लखेटाइमा परेर बिजोक भएको छ ।

छाडा चौपायाले बालीनाली खाइदिएको झोकमा स्थानीयवासीले भाला, लौरी तथा विभिन्न घरेलु हतियारले प्रहार गरेर घाइते बनाएकाले तिनकोे बिजोक भएको हो । दूध दिन छोडेपछि गाईलाई एकठाउँमा लगेर छोड्दा तिनले दिनरात अन्नबाली खान थालेकाले विभिन्न उपाय लगाएर धपाउने गरिएको स्थानीय किसान बताउँछन् । घोडाघोडी नगरपालिका– १का रमेश जोशी अहिले सडकमा रगताम्मे भएका गाई देख्दा दुःख लाग्ने गरेको बताउनुभयो ।


पशुको के दोष दूध खाउन्जेल पाल्ने अनि पछि छोड्नेलाई पो कारवाही हुनुपर्ने उहाँको भनाइ थियो । हिन्दू धर्ममा गाईको धेरै महत्व रहेकामा यस्तो स्थितिमा पु¥याउनु पाप लाग्ने घोडाघोडी नगरपालिका–१ व्यवसायी हरिलाल सापकोटाको गुनासो थियो ।

“ गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निरर्थक हुने, सन्तान नभएकाले गाईको सेवा गरे सन्तान हुने, गोबरले लिपेको स्थानमै बालक जन्मदा राख्ने र गोबरले लिपेर चोख्याउने भन्ने संस्कार सिक्यौँ र भोग्यौ तर अहिले त्यति पवित्र गाई सडकमा रगताम्मे भएर पल्टेको देख्दा साँच्चै कलियुग आएछ भन्ने भान हुन्छ”, उहाँले भन्नुभयो ।

चार वर्ष अगाडि स्थानीय तहको निर्वाचनका बेला यहाँका जनताको सबैभन्दा टाउको दुखाइ बनेको छाडा गाईलाई व्यवस्थापन गर्ने भन्दै जनताका भोट माग्न आएका निर्वाचित जनप्रतिनिधि अहिले समयअवधि सकिन लाग्दासमेत व्यवस्थापन गर्नु त परै जाओस् गाईको विजोक हुनाका साथै स्थानीयवासिन्दामा पनि समस्या थपिँदै गएको व्यवसायी सापकोटाले बताउनुभयो ।

घोडाघोडी नगरपालिका–१० का युवा यम कार्कीले रातभर जाग्राम बसेर बाली बचाउनुपर्ने अवस्था आउँदा पनि जनताका समस्या समाधान गर्नतर्फ राज्यका कुनैपनि निकायले चासो नदिएको गुनासो गर्नुभयो ।नेपालको राष्ट्रिय जनावर रहेको गाईलाई लक्ष्मी माताको रूपमा पूजा गरिन्छ तर अहिले त्यही गाईको बिजोक हेर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर आफ्नो बालिनाली संरक्षण गर्नुपर्ने बाध्यताले सताएको अर्का किसान हर्क खड्काले बताउनुभयो ।

गाईको व्यवस्थापन गरी किसानलाई भोकमरीबाट बचाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुच्छर काटिएका, पेटमा भाला घोपिएका, टाउकोमा बञ्चरो प्रहार भएका गाई जीवन र मृत्युको दोसाँधमा छट्पटिँदासमेत मानिसमा दयाभाव हराएको देख्दा अचम्म लाग्ने गरेको स्थानीयवासी कैलाश दाहालले बताउनुभयो। आफूले उब्जाएको अन्न र फलफूल खाएर सत्यानाश पारेका कारण मानिसमा दया र करुणा हराए पनि स्थानीय सरकारले गाईको व्यवस्थापन नगर्नु दुःखद भएको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाका अनुसार जिल्लाका १३ पालिकाका प्रमुख र उपप्रमुखसँग गाई व्यवस्थापनका लागि छलफल भइरहे पनि पनि कसरी गर्ने भन्ने निर्णयमा नपुगिएकाले व्यवस्थापनमा अझै केही समय लाग्नेछ ।

थौरै सङ्ख्यामा भए पनि एक–दुईपालिकालाई जिम्मा दिएर व्यवस्थापन गर्नुस् भन्नहुन्थ्यो तर छाडा चौपाया हजारौँको सङ्ख्यामा हुनु र दिन प्रतिदिन बढ्दै जानाले समस्या भएको उहाँको भनाइ थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर