एमाले विधान महाधिवेशनः वरिष्ठसहित सात उपाध्यक्ष राख्न र ७० वर्षे उमेर हद हटाउन सुझाव

काठमाडौँ– नेकपा (एमाले)को विधान महाधिवेशनमा समूहगत छलफलका लागि गठन गरिएका १० वटा समूहमध्ये पाँच वटा समूहले आफ्नो निष्कर्ष पेश गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो।

समूहगत छलफल सकिएपछि शनिबार पाँच वटा समूहले आ–आफ्नो सुझाव पेश गरेका हुन्। उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन्। एमसीसीबारे पार्टीको धारणा स्पष्ट नुहँदा कार्यकर्तामा अन्योल रहेको र जनता माझ पनि के भन्ने अन्योल रहेको उनीहरुको निष्कर्ष छ।

यस्तै शुक्रबार महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक र सचिव ६ जना राख्ने प्रस्ताव थियो। जसमा वरिष्ठ नेता र उपमहासचिव हटाउने प्रस्ताव गरिएको थयो।

तर समूहगत छलफलपछि पाँच वटा समूहले एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव पनि राख्नु पर्ने निष्कर्ष निकालेका छन्। सचिव पनि सातै जना राख्नुपर्ने उनीहरुको सुझाव छ।

यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ।  उमेर हद लगाउँदा एमालेको कर्मचारीकरण हुने उनीहरुको ठहर छ। राजनीतिमा उमेर हद लगाउनु जायज नहुने समूहगत छलफलको ठहर छ।

हाल अध्यक्ष ओलीको उमेर ६९ वर्ष रहेको छ। यदी उमेर हद हटाएको खण्डमा उनलाई पार्टीमा निरन्तरताका लागि बाटो खुला हुनेछ।

यसैगरी पार्टीबाट बाहिरिएकाहरुलाई (माधव नेपाललगायत)  निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने पनि सुझाव पेश गरिएको छ। साथै जनताको बहुदलीय जनवाद (जबज)बारे पार्टी थप स्पष्ट हुनुपर्ने र दलाल पूँजीवादबारे नवौँ महाधिवेशनको निष्कर्षबारे पनि थप विश्लेषण आवश्यक रहेको सुझाव पेश भएको छ।

आज बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभाग समूहको छ्लफलको निष्कर्ष सुनाइएको हो। बाँकी पाँचवटाको भोलि सुनाउने र प्रतिवेदन प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिनेछन्। आएका सुझावलाई स्थायी कमिटीले फाइनल गर्नेछ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर