कन्चनपुर पुगेर वन मन्त्री आलेले भने,आरक्षपीडितको समस्या चाँडै समाधान हुन्छ 

विमल विष्ट\९ फागुन
काठमाण्डौ ः वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्ष पीडितको समस्या चाँडो समाधान गर्ने बताएका छन् । चौथो शुक्लाफाटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री आलेले वर्षौदेखि आरक्ष पीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने,–“आरक्ष पीडितको बारेमा मैले सबै बुझेको छु, चाँडै समस्या समाधान गर्न पहल गर्नेछु ।”
मन्त्री आलेले यहाँका आरक्षपीडितहरुको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौदेखि गुमाएको जग्गा समेत फिर्ता दिने आश्वासन समेत दिए ।
यसैगरी मन्त्री आलेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिकका हितमा मात्रै काम गर्ने प्रतिवद्धता जनाए । उनले थप भने, “यो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हो, यो सरकारले अन्याय गर्दैन, न्याय दिने छ ।”
उक्त कार्यक्रममा शुक्लाफाँटा आरक्षपीडितहरुले आफु आरक्षबाट वर्षौदेखि पीडित भएको र आफुले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावररुले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्र समेत पेश गरेका थिए ।
शुक्लाफाँटा निकुञ्जका आरक्ष पीडितको वि.सं. २०५८ सालदेखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ ।
यसैगरी मन्त्री आलेले महाकालीको पुल निर्माणमा देखिएको समस्या पनि केही महिनाभित्रमा बाधा फुकाएर निर्माण गरिने दावी गरेका छन् । “पुल निर्माणका विषयमा केही समस्या उत्पन्न भएको रहेछ, त्यसको पनि चाँडो समस्या समाधान गर्ने छौँ,”उनले भने, “समस्या उत्पन्न भयो भनेर काम नै रोक्ने भन्ने हुँदैन, समस्याको समाधान गरेर विकास निर्माणका काम सुचारु हुनेछ ।”
यसैगरी मन्त्री आलेले वन क्षेत्रका कारण अवरोध सिर्जना भएका विकास निर्माणका काम अघि बढाउन बाधा–अड्काउ फुकाउन पहल भइरहेको जानकारी दिएका छन् । महाकालीमा निर्माण भइरहेको चार लेनको पुलको काममा ठूला ढुङ्गा झिक्नु पर्ने भएका कारण समस्या भएको पाइएकाले अब मन्त्रिपरिषद्को बैठकले ढुङ्गा झिक्न पाउने भन्ने निर्णय स्वीकृत गरेपछि त्यो कार्यान्वयनमा आउने उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने नाराका साथ आइतबारदेखि सुरु भएको हो ।
भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव यहि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । शुक्लाफाँटा राष्ट्रिय महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने लक्ष लिइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार विश्वमै दुर्लभ बाह्रसिंगाको सबैभन्दा ठूलो बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदान र बाह्रसिंगाको झुन्ड रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको निकुञ्ज श्रोतले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर