व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन ः महासचिव पोखरेल

धनगढी,१९फागुन ः कुनै पनि विषयमा संशोधन नहुने गरी एमसीसी सम्झौता हुबहु पारित गर्दै गरिएको व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बताउनु भएको छ ।
नेकपा (एमाले) सुदूरपश्चिम कमिटीले बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा सत्ता गठबन्धनले जनतालाई भ्रमित पार्न व्याख्यात्मक घोषणाको जाल फालेको आरोप लगाउनुभयो । ‘एमसीसी हिजो गलत र आज व्याख्यात्मक घोषणा गर्दा ठिक भन्ने हुन्छ ?,’ पोखरेलले प्रश्न गर्नुभयो, ‘जनतालाई भ्रममा पारेर व्याख्यात्मक घोषणा भनेर प्रचण्ड र माधवले एमसीसी संसद्बाट पास गराए ।’

कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो,’ महासचिव पोखरेलले भने, ‘उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए ।’
एमालेसँग प्रधानमन्त्रीले पटक–पटक गरेको छलफलबारे पनि पोखरेलले प्रस्ट्याउनु भएको छ् । उहाँले भन्नुभयो, ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जे पनि गर्छन् भन्ने देखाउनु थियो त्यो जनताले देखिसकेका छन् ।’

प्रचण्ड र नेपालले तत्कालीन नेकपा कालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेको आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न सहयोगी बनेको पोखरेलले आरोप लगाउनुभयो । हाल प्रचण्ड र नेपाल गलत साबित भएको भन्दै उहाँले सँगै गएका नेता–कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह समेत गरे ।
“अब माधव नेपालतिर गएका साथीहरू या प्रचण्डतिर गएका साथीहरूले अब बुझ्ने बेला भयो । नेकपाको अन्तरसंघर्षमा उहाँले जे पोजिसन राख्नुभएको थियो, त्यो पोजिसनको अन्त्य भयो । उहाँहरू गलत साबित हुनुभयो । नेकपा एमाले अर्थात् केपी ओलीको नेतृत्वमा हामीले राख्दै आएको अडान सही साबित भएका छन् । त्यस अर्थमा तपाइहरू फर्कनुस् । त्यहाँ रहिरहनुपर्ने जरुरी छैन । आउनुस्, हामी मिलेर हामी बलियो पार्टी निर्माण गरौँ ।”

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर