कोरोना बिरुद्दको खोपपछिको असर कस्तो, कसले लगाउने-कसले नलगाउने ?

अत्रीदेव खबर/१०फागुन
काठमाडौं । कोभिड १९ को खोप लगाएपश्चात सामान्यदेखि केही कडा असररहरू प्रायः सबैमा देखिएको छ । खोप लगाइसकेपछि देखिने असर र त्यसको निदानबारे खोप उत्पादक कम्पनीहरूले आ-आफ्नै ढंगले ‘इन्स्योर’ गरेका छन् । नेपालमा हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपले कति व्यक्तिमा कस्तो असर देखायो भन्ने अनुसान्धानकै क्रममा छ । यद्यपि खोप लिएका कसैलाई पनि गम्भीर असर देखिएको रेकर्ड भने हालसम्म छैन ।

किन देखिन्छ खोपको असर ?
मानिसको शरीरमा भएको रोग प्रतिक्रिया प्रणालीले कुनै पनि नयाँ कुराको प्रवेश हुनासाथ तत्कालै त्यसको प्रभाव देखाउँछ जसलाई अक्वायर्ड रियाक्सन भनिन्छ । यसरी देखिने प्रतिक्रिया मानिसको शारीरिक संरचनाअनुसार फरक-फरक हुन्छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सामान्य ज्वरो आउनु, बान्ता आउन खोज्नु, रिँगटा लाग्नु, निद्रा लागेजस्तो हुनु, खोप लगाएको ठाउँमा सुन्निनु, जिउ दुख्नुजस्ता लक्षण सामान्य हुन् । यस्ता लक्षणबाट नआत्तिन र प्यानिक नहुन विश्व स्वास्थ्य संगठनले समेत सुझाव दिएको छ । यस्ता असरहरू बढीमा चार दिनसम्म देखिनसक्छन् । डा. पुनका अनुसार असर देखिने प्रक्रिया स्वभाविक भएको र यसरी देखिने प्रतिक्रियाले हाम्रो शरीरले नयाँ फरेन बडीसँग घुलमिल हुँदै छ भनेर बुझ्नुपर्छ ।

दोस्रो डोज खोप लगाउँदा पनि असर देखिन्छ ? 
पहिलो डोज खोप लगाउँदा देखिएका असररहरू दोस्रो डोज लिँदा भने केही कम हुँदै गएको हालसम्मको अध्ययनले देखाएको छन् । बेलायतको किंग्स कलेजअन्तर्गतको एक अनुसन्धान टोलीले दोस्रो डोज खोप लगाएका १० हजारजनामा गरेको अध्ययनमा पहिलो डोजपछि ३७ प्रतिशतमा सामान्य असर देखिएको पाइएको थियो । त्यस्तै दोस्रो डोज खोप लिएपछि २२ प्रतिशतलाई सामान्य ज्वरो, खोप लगाएको ठाउँ सुन्निनेजस्ता लक्षण देखिएको थियो ।

एकपटक संक्रमण भइसकेकाले खोप लिने कि नलिने ?
कुनै पनि भाइरसले निश्चित समयपछि आफ्नो रुप परिवर्तन गर्दै जान्छ । कोभिड १९ भाइरसमा पनि यो नियम लागु भएको छ । यसरी रुप परिवर्तन हुँदै जाँदा जुनसुकै बेला पनि व्यक्ति संक्रमित हुनसक्ने जोखिम रहन्छ । यसर्थ एकपटक संक्रमित भएकाहरूले पनि खोप लिनु आवश्यक हुने डा. पुनको भनाइ छ ।

कसले नलगाउने कोभिड १९ विरुद्धको खोप ? 
१८ वर्षमुनिका बालबालिका ।
कोभिड १९ विरुद्ध हालसम्म विकास भएका कुनै पनि खोप १५ वर्षमुनिका बालबालिकामा परीक्षण भएको छैन । १८ वर्षमुनिका बालबालिकामा कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले यो उमेर समूहका बालबालिकामा मात्रै अध्ययन हुनपर्ने जनाएको छ । तसर्थ हाल कुनै पनि मुलुकमा १८ वर्षमुनिका बालबालिकामा कोभिड १९ विरुद्धको खोप प्रयोग भएको छैन । बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रुपमा विकास नभइसकेको अवस्थामा यो खोपले नकारात्मक असर गर्नसक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

रोगको मात्रा नियन्त्रणबाहिर भएका दीर्घरोगी
दीर्घरोगी कुनै पनि संक्रमणको जोखिमयुक्त वर्ग हो । यस अर्थमा नेपाल सरकारले दोस्रो चरणको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा दीर्घरोगी र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ । रोगको मात्रा नियन्त्रणबाहिर वा सिकिस्त अवस्था छ भने त्यस्ता दीर्घरोगीले यो खोप लिन मिल्दैन । तर औषधि प्रयोग गरिरहे पनि रोगको मात्रा निश्चित विन्दुभन्दा माथि पुगेको छैन भने त्यस्ता दीर्घरोगीले खोप लिनु लाभदायी हुने डा. पुन बताउँछन् ।

गर्भवती अवस्थाका महिला
गर्भवतीमा पनि कोभिड १९ विरुद्धका कुनै पनि खोप परीक्षण भएका छैनन् । गर्भवती अवस्था आफैंमा संवेदनशील अवस्था भएकाले उनीहरूलाई खोप लिन नहतारिन डा. पुनको सुझाव छ । अमेरिकाको दी अमेरिकन कलेज अफ गाइनोकोजिस्टले पनि गर्भवतीलाई खोप लगाएपछिको उच्च जोखिम वर्गमा राखेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर