गौरीगङ्गा नगरपालिकाले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अत्रिदेव खबर\२४फागुन 
चौमाला ः कैलालीको गौरीगङ्गा नगरपालिकाले पनि आज अन्तर्राष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
 ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस पालिकाले मनाएको हो । पालिकाको महिला तथा बालबालिका शाखाको कार्य तालिका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक सातादेखि विभिन्न विद्यालयमा किशोरी आत्मरक्षा तालिम ,हिंसा न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया लगायतका कार्यक्रम भएका हुन ।
सोमबार भएको कार्यक्रममा पालिकाका उपप्रमुख अन्चला चौधरीले समाजमा व्याप्त रहेका कुसंस्कार,रुढीवादी परम्पराका कारण महिलाहरू माथि हिंसा बढिरहेकोले यस्ता किसिमका हिंसा रोक्नका लागि सम्पूर्ण महिलाहरू एक भएर लाग्नुपर्ने बताएकी थिइन । उपप्रमुख चौधरीले पालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने प्रयासमा कुनै कसर नराखेको बताउँदै गाउँ गाउँ बाट यस्ता हिंसा अन्त्यका लागि सचेतना अभियान स्थानीय महिलाहरूकै नेतृत्वमा हुनुपर्नेमा जोड दिइन ।
नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्त्वपूर्ण प्रावधानको व्यवस्था गरेको र यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठुलो मद्दत पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए  । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने यो दिवस यसको महत्त्व र हिंसाबाट बच्ने उपायबारे पालिकाका कानुन अधिकृत जयन्द्र ठकुल्लाले सहभागीलाई जानकारी गराएका थिए  । महिला तथा बालबालिका शाखाकी प्रमुख भावना अवस्थिले आफूहरू महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै हरेक क्षेत्रका क्रियाकलापमा सक्रियता पूर्वक सहभागिता बढाउन हरसमय लागिरहेको बताइन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर