सुदूरपश्चिमको मौलिक पर्व गौरा सुरु

विशेषगरी सुदूरपश्चिममा मनाइने मौलिक पर्व गौरा शुक्रबारबाट सुरु भएको छ । गौरा पर्वको पहिलो दिन व्रत बसेका महिलाले बिहानै स्नान गरेर घरघरमा बिरुडा भिजाउने गर्छन् । भाद्र पञ्चमीको दिन बिरुडा भिजाएसँगै गौरा पर्व सुरु हुन्छ ।

घरको कोठामा गाईको गोबरले लिपपोत गरेर तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुरौँस भिजाइन्छ । जसलाई स्थानीय भाषामा बिरुडा भन्ने गरिन्छ । बिरुडालाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । पञ्चमीमा भिजाइएको बिरुडा षष्ठीमा पखालिन्छ ।

सप्तमीमा गौरा भित्र्याएसँगै गौरादेवीलाई बिरुडाले पूजा गर्ने र चढाउने परम्परा रहेको संस्कृतिकर्मी पद्मराज जोशी बताउँछन् । जोशीका अनुसार अष्टमीको दिन बिरुडालाई प्रसादको रूपमा ग्रहण गरिन्छ । सप्तमीको दिन गौरालाई विधिवत् रूपमा गौराघर र मन्दिरमा भित्र्याइन्छ । नौवटा वनस्पतिबाट गौराको प्रतिमा बनाएर गौराको रूपमा भित्र्याउने चलन छ ।

भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म गौरा पर्व धुमधामका साथ मनाउने गरिन्छ । अटल सौभाग्य, सन्तान प्राप्ति, पति र सन्तानको दीर्घायु, परिवारमा सुखशान्तिका लागि गौरा पर्वमा महिलाहरू व्रत बस्ने गर्छन् । देवी गौरीले कठिन उपासना गरी भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेको जनविश्वास रहेको छ ।
गौरीले कठिन उपासना गरेजस्तै गौरामा निराहार व्रत बसेर आराधना गरेमा अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको स्थानीय पार्वती भट्टले बताइन् । गौरामा देवी गौरी र महेश्वरको पूजा गर्ने चलन छ ।

सप्तमीका दिन गौरीको प्रतिमा रूपमा वनस्पतिको पुत्ला बनाएर डालोमा राखी नचाउँदै र परम्परागत गीत गाउँदै गौरा भित्र्याउने गरिन्छ । अष्टमीका दिन दुबोको पूजा गरेपछि भिजाएको बिरुडालाई प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको संस्कृतिकर्मी जोशीले बताए । सप्तमीमा भित्र्याएको गौराको प्रतिमालाई शिरमा राखेर दुई दिनसम्म गौराघर वा मन्दिरमा नचाउँदै रमाइलो गर्ने चलन छ ।

पूजाआजापछि अष्टमीको दिन नदी, खोला, तलाउको किनारमा गौरा सेलाउने चलन रहेको उनको भनाइ छ । गौरा कर्णाली प्रदेशका केही जिल्ला र भारतको उत्तराखण्ड, कुमाउ प्रदेशमा पनि मनाउने चलन छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर