असन्तुष्टि देखिएपछि ‘विशेष सम्बोधन’ गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने भएका छन्। संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ। तर सम्बोधनको समय भने सचिवालयले खुलाएको छैन।

सदनबाट आइतबार एमसीसी पारित भएसँगै माओवादी केन्द्रभित्र चर्को असन्तुष्टि फैलिएको छ। सडक र सरकारबाटै एमसीसीको विरोधमा उत्रिएको माओवादीले यो परियोजना पारित गर्न विशेष भूमिका नै निभाएपछि माओवादी नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन्। आइतबार साँझै नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएको दिनलाई कालो दिनको संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असन्तुष्टि पोख्दै श्रेष्ठले लेखेका छन्, ‘व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।’ व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउन माओवादी राजी भएपछि केही कार्यकर्ताले सामाजिक सञ्जालबाटै राजीनामाको घोषणासमेत गरेका छन्।

पार्टीभित्र नेता कार्यकर्ताको असन्तुष्टि चुलिएपछि प्रचण्डको सचिवालयले भने देश र पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको स्पष्टीकरण दिएको छ। प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमा यसबारे भनेकी छिन्, ‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिँदैन। एक पटक सोचौँ हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ।’

प्रचण्डको सचिवालयले भने पार्टी नेतृत्वलाई विश्वास गर्न आग्रह गरेको छ। ‘पार्टी नेतृत्वलाई विश्वास गरौँ। किनभने देश र जनताको हितबाहेक नेतृत्वको अरू कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्‍याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं। एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले विशेष सम्बोधन गर्नुहुनेछ,’ सचिवालयले भनेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर