जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रियाहरू खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनअघि नै शाहविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । अब भने प्रहरीले प्रमाण संकलनको प्रक्रिया सुरु गर्छ ।
प्रहरीले सुरुमा पीडित किशोरी र उनका संरक्षक(बाबु)को बयान लिन्छ । फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृत समक्ष गर्ने भनाइलाई महत्वपूर्ण प्रमाण मानिन्छ । त्यसपछि पीडितका संरक्षकसँग प्रहरीले सोध्छ । प्रमाणका लागि पीडित किशोरीले स्वास्थ्य परीक्षण समेत गरिसकेकी छन् ।
अनुसन्धान टुंगिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ । पीडितका बाबुले जाहेरी दिएको अनि पीडित किशोरीले नै आफूमाथि बलात्कार भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब-करिब निश्चितजस्तै छ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ ।
बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ । अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतयाः ३ वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रुपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।
अभिनेता शाहविरुद्ध पीडित किशोरीले नवलपरासीमा समेत किटानी जाहेरी दिएकी छन् । जुन जिल्लामा अपराध भएको हो, त्यही जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले नवलपरासीमा समेत आफूमाथि जबर्जस्ती भएको भन्दै किशोरीले जाहेरी दिएकी हुन् । उनले गत ७ चैत २०७७ मा आफूमाथि गैडाकोट रिसोर्टमा जबर्जस्ती भएको आरोप लगाएकी छन् ।
अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका पल शाहले अदालतको सामना गरेपछि उनलाई फेरि प्रहरीले नवलपरासीमा ल्याउनेछ । त्यहाँ पनि तनहुँकै झै प्रक्रिया अघि बढ्छ र प्रहरीले प्रमाण देखेमा सरकारी वकिल कार्यालयले शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा बलात्कारको दोस्रो मुद्दा चलाउनेछ ।
बलात्कारको मुद्दामा पीडित किशोरीमात्रै होइन, उनको पहिचान खुल्ने अरु विवरणसमेत गोप्य राख्नुपर्ने भएकाले जिल्ला अदालतमा यो मुद्दा बन्द इजलासमा सुनुवाई गर्नेछ । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीकै कारणले पल शाहले नवलपरासीमा परेको जाहेरीबाट उन्मुक्ति पाउँदैनन् ।