पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरे । तर, अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि जाहेरी पर्‍यो ।

पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो ।

तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।

के-के छन् पलविरुद्धका प्रमाण ?

केहीअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको छ । पीडितको स्वास्थ्य परीक्षणले पनि उनको संवेदनशील अंगमा चोट रहेको देखाएको छ ।

उनले तनहुँ र नवलपुरमा दिएको बयानमा दुईबीच विवाद बढेपछि ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन् । तर जबरजस्ती करणी चाहिँ अस्वीकार गरेका थिए ।

उनका अनुसार २०७८ सालको जेठ अन्तिमतिर पीडित किशोरीले फोन गरेर ‘तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, महिनावारी रोकियो‘’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि पीडितकी आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गरेको भन्दै उनले बयानमा भनेका छन्, ‘मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमर पुगेको छैन भनेको थिएँ ।’

पलले भने तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई ‘बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका थिए। नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी शाहले गरेका थिए ।

तनहुँमा शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । पीडितको बयान अनुसार जोशीले शाहसँग घुम्न जान र उनले भनेको मान्न भन्दै फकाउने गरेका थिए ।

‘भिडियो सुटिङका क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा जोशीले सहयोग गरेका थिए’ उनले भनेकी छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर