तुलसीपुरमा कांग्रेस र एमाले मेयर उम्मेदवारबीच ठट्टा- जित्न त मै जित्छु, सम्झनाको लागि सँगै फोटो खिचौं

दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयरका प्रत्यासी नेपाली कांग्रेसका गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्काले शुक्रबार सार्वजनिक कार्यक्रममा अंकमाल गर्दै आपसमा ठट्टा गरेका छन्।

 

नेपाल पत्रकार महासंघ दाङ शाखाले तुलसीपुरमा गरेको उम्मेदवारसँग स्थानीय तह निर्वाचनबारे बहसमा गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी र नेकपा एमालेका प्रदेश कमिटी सदस्य टिकाराम खड्काले हाँसी मजाक गर्दै सार्वजनिक रुपमा अंकमाल गरेका हुन्।

कार्यक्रमको अन्त्यमा दुबै उम्मेदवार उठेर आपसमा अंकमाल गरि हाँसी मजाग गर्दै दुबैले आफूले नै जित्ने भए पनि सम्झनाको लागि सँगै फोटो खिच्ने बताए।

सुरूमा एमालेका खड्काले भने, ‘दाइ मेयर त मै जितिहाल्छु ,तै पनि दाइसँगै एउटा फोटो खिचम न।’

 

दुबैले हाँस्दै आपसमा अंकमाल गरि फोटोसेशन गरे। त्यसको जवाफ पनि गठबन्धनका उम्मेदवार गिरीले सोही रूपमा दिए।

टीकारामजी मेरो मित्र अनि भाइ हो,’ गिरीले भने, ‘मेयरको चुनाव मैले जित्ने हो है भाइ। नआत्तिनुस मैले जिते पनि भाइलाई मेरो नजिकै अर्कौ कुर्सी राखिदिने छु।’

मेयरका उम्मेदवार गिरीले तुलसीपुरको विकासको लागि सल्लाह गरेरै अगाडि बढ्ने भन्दै आफूले भाइ तथा एमालेका उम्मेदवार खड्काका लागि पनि नजिकै कुर्सी राखिदिने बताएका हुन्।

आफ्नो पक्षमा मत माग्न तल्लिन गठबन्धनका उम्मेदवार गिरी कार्यक्रममा सबैभन्दा ढिला गरि आएका थिए। गिरी कार्यक्रमस्थलमा आउनासाथ एमाले उम्मेदवार खड्काले ‘दाइ जय नेपाल’ भनेर सम्बोधन गरेका थिए। त्यतिखेरै पनि खड्काले दाइ त मान्ने भइसकेको ब्यक्ति यसपाली भाइले नै मेयर जित्छ है दाइ भनेर जिस्काएका थिए। त्यसको जवाफ पनि गिरीले हाँस्दै त्यसैगरि भने- चुनाब दाइले जित्छ नि!

कांग्रेस नेता तथा गठबन्धनका मेयरमा उम्मेदवार गिरी नेकपा एमालेका नता तथा उम्मेदवार खड्का बोलिरहँदा शान्त बसेका थिए। खड्काले बोलिरहँदा गिरी बीचमा ठाउँ ठाउँमा मुसुमुसु हाँसि रहेका देखिन्थे । तर, उनी पछि बोलेका गिरीले आफूले सम्भभव हुने कुरा मात्रै गर्ने तथा काल्पनिक कुरा गरेर भोट नमाग्ने बताएका थिए।

गिरीले पातुखोलामा वा बबईमा पानी जहाँज चलाउने सपना नबाँड्ने भनिरहँदा बिचमै खड्काले हाँस्दै ‘पातुखोला र बबईमा होइन दाइ हामीले गण्डकी र कोशी जस्ता समुन्द्रमा’ पानी जहाज चलाउने कुरा गरेको भन्दै प्रतिवाद गरे।

त्यतिखेर गिरीले मित्र मेरो भाइ नेपालमा समुन्द्र कहाँ छन्? भनेर प्रश्न गरेका थिए। खड्काले फेरि नेपालमा आफ्नै झण्डा गाडेको पानी जहाज सञ्चालनमा आइसकेको देख्नुभएको छैन दाइ? भनेर प्रतिप्रश्न गरे।

 

के झन्डा राख्दैमा तेस्रो मुलुकसँग हाम्रो हक कायम हुन्छ र भाइ? उनले सोधे।

त्यसपछि जवाफमा गिरीले भने, ‘भाइ तपाँई हामी बाटो नहुँदा काठमाडौं जाने बेलामा बाँकेको अगैयामा काठको डुँगा चढ्थौं है। तपाँईलाई पनि सम्झना होला। अहिले पो राप्ती नदीमा पुल बनेको छ। के त्यसलाई पानी जहाज नै भन्दिने,’ भनेर सम्झाएपछि खड्का टाउको हल्लाउदै हाँसेका थिए।

त्यस्तै गिरीले आफूले स्मार्ट सिटीको कुरा नगर्ने तथा खरको छानो पनि थिए र? भन्ने इतिहास बनाइदिने बताउँदै झुटा कुरा गरेर भोट नलिने बताए। गिरी त्यत्तिमै रोकिएनन् – उनले सँगै बसेका ‘खड्कालाई हेर्दै यो कुरा टीकाराजीलाई पनि राम्रोसँग थाहाँ छ , उहाँहरुले सबै बुझ्नुभा’छ। के गर्ने उहाँलाई पनि अहिले निर्वाचन हो बाध्यता होला होइन भाइ,’ भन्दै सोधेका थिए।

त्यसपछि एमाले मेयरका उम्मेदवार खड्काले भने जसरी खरको छानो विस्थापित गर्न नसकेको कुरा मौन स्वीकृति जनाउँदै भनेका थिए, ‘कम्तिमा त्यो सोच हामीले ल्याएको हो भन्ने कुरा बुझ्दिनुहोला दाइ।’

त्यस्तै गिरीले सुकुम्बासी समस्या समाधान गर्न पनि अघिल्लो सरकार चुकेको बताए। ‘ भाइ तपाँई त जिल्लामा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुनुहुन्थ्यो है,’ गिरीले भनेका थिए, ‘तर, केन्द्रदेखि प्रदेशसम्म तपाँईकै सरकार हुँदाखेरि पनि भूमिहिनलाई लालपूर्जा वितरण गर्न सक्नुभएन है। केही छैन उहाँलाई पनि सायद समस्या भयो होला। तर अब हामी जितेपछि बास्तविक भूमिहीनलाई लालपूर्जा बितरण गर्नेछौं।’

गिरीले मानिसको जीवनको निमित्त आवश्यक आवश्यकता के हो? पहिलो प्राथमिकता के हो? त्यसलाई निर्धारण गरि गठबन्धनले काम गर्ने बताएका थिए।

 

खड्काले पनि तुलसीपुरलाई नमुना सहर बनाउने, विद्युत तारहरू अण्डरग्राउन्ड गर्ने, राप्ती राजमार्गलाई सुरूङ मार्गमा रुपान्तरण गर्ने तथा तुलसीपुरको आमुल परिवर्तन र संवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर