देशभरिका मतदाताको दिमागमा छैन एमसिसीको मुद्दा

दुई महिनाअघि नेपालको राष्ट्रिय राजनीति अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले तरंगित थियो। पाँच वर्षअघि हस्ताक्षर भएको ६० अर्ब रुपैयाँ बराबरको उक्त सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे जनस्तरसम्म तीव्र चासो र चर्चा थियो।

सत्तारूढ गठबन्धनका दलहरूलाई आफूहरूले एमसिसी संसदबाट पारित गरे यो चुनावी मुद्दा बन्ला र मतदाताहरूले आफ्नो दललाई मत नदेलान् भन्ने चिन्ता थियो। प्रतिपक्षीमा रहेको एमालेले यसलाई गठबन्धन भत्काउने रणनीतिका रूपमा उपयोग गर्न खोजेको थियो।

 

लामो रस्साकस्सीपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित फागुन १५ गते एमसिसी संसदबाट पारित भयो।

दुई महिनाअघि राष्ट्रिय राजनीति तरंगित भएको एमसिसी सम्झौता अहिले भइरहेको स्थानीय चुनावमा भने मतदाताको दिमागबाट हराइसकेको छ। अर्थात् यो विषय चुनावको मुद्दा नै बनेको छैन।

 

धरान, इटहरी, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, काठमाडौं, बुटवल र धनगढीका एक हजारभन्दा बढी मतदातासँग कुराकानी गर्दा कसैले पनि एमसिसीलाई चुनावी मुद्दा बनाएको पाइएन।

यसपालिको चुनावका लागि तपाईंहरूको मुख्य चासो के हो भन्ने प्रश्नमा कसैले पनि एमसिसीको कुरा उठाएनन्। आफ्नो ठाउँमा विकास नभएको, कर महंगो भएको, खानेपानीको अभाव भएको, भ्रष्टाचार बढेको, सार्वजनिक सेवा प्रवाहजस्ता विषयलाई मतदाताले चुनावी मुद्दा बनाएका छन्।

हामीले कुरा गरेकामध्ये भरतपुरमा १० र पोखरामा एक जनाले मात्रै एमसिसीको कुरा उठाएका थिए।

 

भरतपुर-२ का मुक्तिबहादुर नहर्कीले एमसिसी गलत भएको बताए।

 

‘एमसिसी पास गरेर राष्ट्रघाती काम गरियो। यसपालि मलाई त कसैलाई भोट नै नहालौंजस्तो लागेको छ,’ उनले भने,‘हाले पनि राप्रपालाई दिउँजस्तो लागेको छ।’

उनी गोरखाबाट भरतपुर बसाइँ सरेका हुन्। गोरखामा हुँदा उनको परिवार माओवादी हो। आफ्ना दुई जना भाइ-बहिनीले जनयुद्धमा ज्यान गुमाएको उनले बताए।

 

पोखरामा हामीले भेटेकामध्ये एकमात्र मतदाताले एमसिसीको विषय उठाइन्। ‘एमसिसीले देश बेचे भन्छन्’, ६२ वर्षकी उनले भनिन्, ‘गरिबको कोही रहेनछ। सडक निर्माण गर्दा मजदुरहरू चिसो भुँइमा पाल टाँगेर बसेको देखेँ। तर पैसा त ठेकेदारले पो पाउने रहेछ।’

उनले आफूले कसलाई मतदान गर्ने खुलाइनन्। तर राजनीतिक दलहरूको आलोचना मात्र गरिन्।

 

धरान, इटहरी र विराटनगरमा हामीले भेटेजति सबै मतदातालाई एमसिसीबारे उनीहरूको धारणा के छ भनेर सोधेका थियौं। तीमध्ये ठूलो संख्याले आफूलाई एमसिसीबारे थाहै नभएको जवाफ दिए। नराम्रो भयो भन्ने मतदाताको संख्या पनि उल्लेख्य थियो। तर एमसिसीकै कारण कुनै दललाई मत नदिने निर्णयमा पुगेको कसैले बताएनन्।

कतिपयले एमसिसीबारे हल्ला सुनेको भए पनि आफूलाई विस्तृत जानकारी नभएको बताएका छन्।

 

धरान-१५ मा पसल चलाउने २२ वर्षीया बिन्दु राईले पहिलो पटक मत हाल्दैछिन्। उनलाई एमसिसीबारे थाहा छैन।

 

‘एमसिसीमा देश अर्कालाई बेचिदियो भन्छन्। कुरा के हो मलाई थाहा छैन,’ उनले भनिन्।

 

केहीले भने आफूले एमसिसीबारे थाहा नभए पनि पास भएर राम्रै भएको बताएका छन्।

इटहरी-४ का बिष्णु बरालले पनि एमसिसीबारे धेरै थाहा नभएको बताए।

 

‘खै थाहा छैन। तर एमसिसी पास हुनु राष्ट्रघात हो जस्तो लाग्दैन,’ उनले भने।

 

कतिपय मतदाताले भने एमसिसी पास भएर राम्रो भएको प्रतिक्रिया दिए।

 

इटहरी-९ की शोभा भट्टराईलाई एमसिसी पास भएर राम्रो भएको बताइन्।

एमसिसी पास भएर राम्रो भयो। पैसा आयो भने यहाँका युवाहरूलाई रोजगारी पाउँछन् कि,’ उनले भनिन्।

 

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर