आरसी-३२ फुटबल एकेडेमीलाई कारबाही, ३-३ खेलाडी र अफिसियललाई प्रतिबन्ध

आइतबार पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अनुशासन पालना नगरेको भन्दै आरसी-३२ फुटबल एकेडेमीलाई १ लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको छ भने खेलाडी तथा अफिसियललाई प्रतिबन्ध लगाइएको छ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समितिको सिफारिसपछि एन्फा अनुशासन समितिले खेलाडी राजकुमार श्रेष्ठलाई दुई वर्ष तथा खेलाडीद्वय विदुर रिजाल र प्रविण राईलाई एन्फाले आयोजना गरेको वा स्वीकृत हुने फुटबल प्रतियोगितामा एक–एक वर्षको प्रतिबन्ध लगाएको हो।

टिम अफिसियल सञ्जीव कार्की र टिम म्यानेजर अनुप भट्टराईलाई लिगका बाँकी खेल र टिम अफिसियल रविन चन्दलाई एक वर्ष फुटबल प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको छ। चन्द सुर्खेत जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष तथा एकेडेमीका पूर्वअध्यक्ष हुन्।

आइतबार भएको खेल २–२ गोलको बराबरीमा सकिएपछि क्लबका खेलाडी र अधिकारीहरूले एन्फा कम्प्लेक्सको मैदानको भिआइपी क्षेत्रमा दौडिएर प्राविधिक कर्मचारीलाई हातपात गरेको एन्फाको अभिय‍ोग छ।

 

यता गत महिना सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ मा बाँसबारी क्लबविरुद्ध भएको खेलमा म्याच अफिसियललाई हातपात गरेको भन्दै अनुशासन समितिले श्री भगवती क्लबलाई लगाएको जरिवाना बढाएको छ।

बाँसबारी क्लबसँग २–१ ले पराजित भएपछि श्रीभगवती क्लबका पदाधिकारीहरु पिचतिर दौडेर म्याच रेफ्री सुमन श्रेष्ठ र सुरक्षा अधिकारीलाई हातपात गरेका थिए। स्थिति शान्त पार्न सुरक्षा अधिकारीहरूलाई पिचमा बोलाउनु परेको थियो। घटनामा संलग्न रहेको भन्दै क्लबका अधिकृत राजाराम श्रेष्ठ र विक्रम डंगोललाई एक एक वर्षको प्रतिबन्ध लगाइएको छ भने श्री भगवतीका खेलाडी अनिश श्रेष्ठलाई पनि एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

लिग समितिले क्लबलाई ५० हजार जरिवाना गरेको थियो भने अधिकारी श्रेष्ठ र डंगोललाई क्लबका बाँकी खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

बैठकले नयाँबस्ती युथ क्लबलाई गत वैशाख २६ गते मध्यपुर युवा संघ विरुद्ध भएको घटनाको जरिवाना पनि १ लाख ५० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। मध्यपुरसँग ३–१ ले पराजित भएपछि क्लबका खेलाडी तथा पदाधिकारीलाई अभद्र व्यवहार र अनुशासनहीन कार्यमा संलग्न भएको एन्फाको भनाइ छ। लिग कमिटीले क्लबलाई तीन लाख जरिवाना गरेको थियो।

बैठकले नयाँबस्ती क्लबका प्रशिक्षक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग समितिको निर्णयलाई यथावत राखेको छ। क्लबका पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध र टोली व्यवस्थापक विकास राईलाई एक वर्ष निलम्बन गरिएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर