आठ वर्षअघि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लागेको आरोप पुष्टि गर्न एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन्।

२०७१ मा एन्फाका तत्कालीन उपाध्यक्ष रहेका कर्माछिरिङ शेर्पाले थापाले अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए।

त्यसपछि २०७१ असोज १२ गते लेखा समितिले गणेश थापा संलग्न अखिल नेपाल फुटबाल संघ (एन्फा) का विभिन्न परियोजनामा ५८ करोड रुपैयाँ अनियमितता भएको आशंकामा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो।

यद्यपी अख्तियारले यो विषयलाई तामेलीमा राखेको थियो।

आठ वर्षपछि थापाले आफूमाथिको उक्त आरोप अझै पुष्टि नभएको भन्दै शेर्पालाई पुष्टि गर्न चुनौती दिएका छन्।

 

‘मलाई लगाइएका आरोपको पुष्टि गर्न अहिले पनि चुनौती दिन्छु। ती आरोपमध्ये एउटामा मात्र पनि म दोषी ठहर भएर आजीवन फुटबलको कुरा गर्ने छैन,’ थापाले चुनौती दिए, ‘उहाँले लगाउनुभएका आरोपको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर छानबिन भएको जानकारी गराउन चाहन्छु। छानबिनपश्चात् सफाइ दिएको पनि सबैको जानकारीमा छ

उनले आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रश्न गरे, ‘लेखा समितिले मलाई कहाँ कारबाही गरेको छ? फिफाले मलाई गरेको कारबाही तपाईंले लगाएका आरोपका आधारमा हो? अख्तियारले गरेको निर्णय तपाईंलाई चित्त नबुझेको भए यति लामो समयसम्म तपाईं के हेरेर बसिरहनु भएको छ?’

 

उनले आरोपहरूका कारण विगत सात वर्षदेखि आफू र परिवारमा मानसिक आघात पुगेको पनि बताए।

उनलाई फिफाले २०७२ मा १० वर्षको प्रतिबन्ध लगाएको थियो। फिफाका तत्कालीन उपाध्यक्ष मोहमद हमामसँग व्यक्तिगत रूपमा पैसा लिएको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो।

 

उनले फिफाले गरेको कारबाही र नेपालामा लगाएको आरोप फरक/फरक भएको बताए।

 

‘फिफाले मलाई कारबाही गरेको तर त्यही विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाहिँ सफाइ दिएको भन्ने भ्रम पर्न गएको छ। त्यसकारण अब यो विवादको अन्त्य हुन जरूरी छ,’ उनले भने।

उनले आफूले व्यक्तिगत रूपमा हमामसँग रकम लिएको भने स्वीकार गरे।

 

‘मैले व्यक्तिगत सम्बन्धका आधारमा पैसा लिएको हुँ। त्यो पैसा सामाजिक काममा खर्च गरेको थिएँ। तर भोटका कहिल्यै पनि पैसा लिएको छैन। परिबन्दमा पारेर ममाथि प्रतिबन्ध लगाइएको थियो,’ उनले भने।

 

उनले अब आफूसँग दुइटा मात्र विकल्प रहेको बताए।

उनले भने, ‘ममाथि लगाएका आरोपहरू प्रमाणित गर्न सक्नुपर्छ। त्यसो भए म कारबाही भोग्न तयार छु। अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ। एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न। कसैमाथि लगाएको आरोप झूटो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफाको कोड अफ इथिक्समा स्पष्ट रूपमा लेखिएको छ।’

थापाले अब आफूले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका उजुरी दिने पनि बताए।

एन्फाको केन्द्रीय समितिको निर्वाचनअघि पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई प्रभावित पार्न खोजेको भन्ने प्रश्नमा अघि भने, ‘मैले आफूमाथि लागेका आरोप पुष्टि गर्न यसअघि भनेका थिए। तर ती आरोप पुष्टि नभएपछि अध्यक्षको कार्यकाल सकिनुअघि जवाफ मागेको हुँ। एन्फा निर्वाचनमा यसको कुनै सम्बन्ध छैन।’

 

एन्फा कार्यसमितिको निर्वाचन आगामी असार पहिलो साता हुँदैछ। त्यसअघि जेठ पहिलो सातादेखि मनोनयन प्रक्रिया सुरू हुनेछ।

 

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर