ताप्लेजुङमा भिरमा भेटियो युवकको शव

ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।

 

प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए।

कामबाट घर जान्छु भनेर हिँडेको मान्छे अबेरसम्म पनि आएनछन्। फर्किएनन् भनेर हामीलाई साढे ११ बजे खबर भयो,’ प्रहरी नायब उपरीक्षक राईले भने।

 

खबर पाएपछि आफन्त, स्थानीय, प्रहरी र सशस्त्र सहितको टोलीले उनीहरूको खोजी गरेको थियो।

 

खोजी गर्दा साढे १२ बजे सडकभन्दा अन्दाजी ३०० मिटर तल भिरमा लडेको अवस्थामा फेला परेको राईले बताए।

घर पुग्नुभन्दा नजिकै हो। ५-७ मिनेट पैदल हिँडेर जाँदा घर पुगिने ठाउँको भिरमा फेला परेको हो,’ उनले भने, ‘हिमाली जिल्ला हो। अन्दाजी ३०० मिटर तल खसेको भनेका छन्।’

 

घटना शंकास्पद भए/नभएको अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए। प्रारम्भिक रूपमा हेर्दा सडकबाट भिरमा खसेको देखिएको उनले बताए।

प्रारम्भिक रूपमा बाटोबाट खसेर मृत्यु भएको देखिन्छ। बाँकी शंकास्पद हो वा होइन भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा होला,’ उनले भने, ‘डकुमेन्टेसन गर्न गएको टोली फर्किइसकेको छैन। फर्किएपछि डकुमेन्टहरू हेरेरमात्रै भन्न सकिन्छ।’

 

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेको छ। शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए।

यता नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भने कार्कीको अपहरणपछि हत्या भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्- २०७९ वैशाख २८ गते साँझ ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका- १ खोक्लिङमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा हाम्रो पार्टीका कार्यकर्ता विमल कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरेका छन्। निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद छ र राजनीतिक पनि रहेको आशंका छ।

उनले अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर