पोखरामा पत्रकारलाई गाली गर्ने एमाले नेताले मागे माफी

पोखरा महानगरमा एमालेका किल्ला ठानिएकै वडाहरूबाट अपेक्षाकृत मत पार्टीका मेयर उम्मेदवारलाई आएन। वडा अध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका ठाउँमा समेत मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका अध्यक्ष धनराज आचार्यलाई गएपछि एमालेभित्र अन्तर्घातको आरोप-प्रत्यारोप चलिरहेको छ।

पोखरा उपत्यका नगर विकास समितिको कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा पोखराको मतगणना भइरहेको छ। एमालेकै किल्ला ठानिएका वडा नम्बर-७ को मतगणना भइरहँदा अपेक्षाकृत मत नआएपछि एमाले प्रतिनिधिले होहल्ला गरे।धाँधलीको आरोपमा मतगणना स्थगित गराए।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मेयर उम्मेदवारसहित दलका नेताहरूको सर्वदलीय बैठक राखेपछि मतगणना सुचारू भएको छ। २०७४ को स्थानीय निर्वाचनमा झण्डै १५ हजार मतले कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गरेको एमालेले यसपटकको निर्वाचनको मतगणना गर्दा अहिलेसम्म मेयरमा अग्रता लिन सकेको छैन

प्रतिनिधि सभामा ३ वटा र प्रदेश सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एमालेले अघिल्लो निर्वाचनमा प्रतिनिधीसभाका सबै र प्रदेश सभाका ५ वटा क्षेत्रमा फराकिलो अन्तरसहित जित निकालेको थियो। यसपटकको स्थानीय निर्वाचनमा अपेक्षाकृत मत नआएपछि एमालेका नेता कार्यकर्ता उदण्ड व्यवहार देखाउन थालेका छन्।

पोखरा-७ को मतगणनाका क्रममा बुधबार एमालेले धाँधली भएको भन्दै मतगणना रोकेर नाराबाजी गर्दैगर्दा अनलाइनखबरका पत्रकार अमृत सुवेदीले एमाले नेता दामोदर बैरागीलाई धाँधलीका विषयमा प्रश्न राखे।

बैरागीले धाँधलीका विषयमा बोल्न चाहेनन्। उल्टै पत्रकार सुवेदीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरे। पत्रकारलाई भौतिक आक्रमण गर्न कार्यकर्तालाई दुरुत्साहन गरे। यद्यपी, बैरागीले पत्रकार सुवेदीसँग गल्ती भएको भन्दै माफी मागिसकेका छन्।

गएको महाधिवेशनमा एमाले कास्कीको अध्यक्ष लडेका बैरागीले हार व्यहोर्न पुगेका थिए। अर्का नेता मनबहादुर गुरूङ एमाले कास्कीका अध्यक्ष चुनिएका थिए।

त्यतिबेला पनि बैरागीले हारलाई सहज स्विकार्न सकेनन्।आफू र आफ्नो टिमलाई हाउन गुरूङ पक्षले कुनै कसर बाँकी नराखेको फेसबुकमा लेखे। एमाले कास्कीको अध्यक्षमा आफुले हार्दा बैरागीले गरिब, किसान, उत्पीडित समुदाय हारेको भनेर ब्याख्या गरे। सम्पूर्ण श्रमजीवी नै हार्न पुगेको निष्कर्ष निकाले।

पत्रकारमाथि अपशब्द बोल्दै आक्रमण गर्न निर्देशन दिएका बैरागीले त्यतिबेला आफु पार्टी अध्यक्ष हार्दा श्रमजीवी पत्रकार पनि हार्न पुगेका बताएका थिए। उनले फेसबुकमा लेखेका थिए– ‘अधिवेसनबाट पार्टी अध्यक्षमा म दामोदर बैरागी मात्र हारेको होइन, मोफसलका पत्रकार र श्रमजीवी पत्रकारको आशा हारेको छ।’

मतगणना स्थल बाहिर बुधबार पत्रकार सुवेदीमाथि अपशब्द बोल्दै आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिएका बैरागीले गल्ती गरेको स्विकार गरेका छन्। उनले माफी मागेपछि विषय साम्य भएको पत्रकार सुवेदीले बताए।

मलाई अपशब्द बोल्दै बैरागीले धम्कीपूर्ण भाषा बोल्नुभयो, आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो,’ उनले भने, ‘उहाँले गल्ती महशुस गरेर माफी मागेपछि विषय टुङ्गिएको छ, आगामी दिनमा यस्ता व्यवहार नगर्न सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर