गेटामा ´मेडिकल विश्वविद्यालय´ सञ्चालनका लागि एकजुट हुन आह्वान

धनगढी: कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न सिङ्गो सुदूरपश्चिम एकजुट हुनुपर्नेमा जोड दिइएको छ। ०४८ सालदेखि गेटामा मेडिकल कलेज स्थापना गर्ने चर्चा चलेकोमा पूर्वाधार निर्माण भएसँगै मेडिकल विश्वविद्यालयको प्रारुपबारे बहस चलेको हो।

मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा मेडिकल शिक्षा र अस्पताल संचालनमा आए सीमित दायरा हुने भएकोले मेडिकल विश्वविद्यालय स्थापना गर्न सिङ्गो सुदूरपश्चिम एकजुट हुनुपर्ने सहप्राध्यापक जगन्नाथ जोशीले बताए। “गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्छ, मेडिकल कलेज हाम्रो माग होइन,” उनले भने, “सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कलेज कुनै पनि हालतमा बनाउनु हुँदैन।” शुक्रबार धनगढीमा भएको अन्तरक्रियामा प्राध्यापक, चिकित्सक, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवाको सहभागी थियो

विश्वविद्यालय सञ्चालनका लागि सबैले जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको संघर्ष समितिका सह-संयोजक आनन्दराज भट्टले बताए। कार्यक्रममा धनगढीको ऐश्वर्य कलेजका सहप्राध्यापक खेमराज पन्तले सुदूरपश्चिमलाई नेपाल सरकारले पटकपटक घात गरेको बताए। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत गेटा मेडिकल कलेज संचालन गर्ने सरकारको पछिल्लो नीति गलत रहेको उनको दाबी छ। यस्तै डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिमले सरकारसँग मेडिकल कलेज कहिल्यै नमागेको धारणा राखे।

राजनीतिक दलका नेताहरूमा सहमति भए विश्वविद्यालय या प्रतिष्ठान बनाउन कठिन नहुने तर विश्वविद्यालयबारे राजनीतिक सहमति खोज्नुपर्ने डाक्टर सिंहले धारणा राखे। “सुदूरपश्चिमले सरकारसँग मेडिकल कलेज मागेको छैन,पहिले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर प्रक्रिया अगाडि बढेको हो,” उनले भने, “यो क्षेत्रका सबै शिर्ष तहका नेताहरूबीच सहमति खोजेर अगाडि बढे विश्वविद्यालय स्थापना गर्न सहज हुन्छ।” मानवअधिकारकर्मी खडकराज जोशीले गेटामा विश्वविद्यालय स्थापना गर्न सबैको एकै आवाज हुनुपर्ने बताए।

उनले कुनै क्षेत्रका मान्छेले कलेज, कसैले प्रतिष्ठान र कसैले विश्वविद्यालय को माग राख्दा आन्दोलन सफल नहुने बताए। छलफल कार्यक्रममा प्राध्यापक सुरेन्द्र चन्दले सुदूरपश्चिम विश्वविद्यालय मातहतको कलेज बनाउन नहुनेमा जोड दिए। प्रदेश र संघीय चुनाव आइरहेकोले मेडिकल विश्वविद्यालयका लागि दबाब दिनु उपयुक्त हुने प्राध्यापक चन्दको निष्कर्ष छ। “सुदूरपश्चिम विश्वविद्यालय मातहत मेडिकल कलेज चलाउने भन्ने हामीले सोच्नु पनि हुन्न,” उनले भने, “प्रदेश र संघीय चुनाव सम्मुखमा भएकोले मेडिकल विश्वविद्यालयका लागि दबाब दिनुपर्छ।” सहप्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दले भोलिको आवश्यकता र जनताको चाहनाअनुसार राज्यले काम गर्नुपर्ने बताए

राज्यको लगानी र प्रक्रियाका लागि कलेज, प्रतिष्ठान र विश्वविद्यालय स्थापना गर्न उस्तै उस्तै समय र लगानी लाग्ने भएकोले आवश्यकता सम्बोधन गर्न राज्यले काम गर्नुपर्ने चन्दले बताए। यस्तै गेटा मेडिकल विश्वविद्यालय बनाउन सबैले कम्मर कस्नुपर्ने अर्थशास्त्री शिवहरी शर्मा मुडभरीको बताए। “गेटामा मेडिकल विश्वविद्यालयबाहेक अन्य कुरा चलाउने कल्पना पनि गर्नु हुन्न,” उनले भने, “सम्माननीय प्रधानमन्त्री पनि सुदूरपश्चिमकै हुनुहुन्छ सबैको प्रयासबाट मेडिकल विश्वविद्यालय स्थापन गर्नुपर्छ।” अन्तरक्रियामा गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिइएको छ।

तुरुन्तै अस्पताल संचालन गरेर विश्वविद्यालयको स्थापना गर्न सरकारलाई चौतर्फी दबाब दिन विभिन्न दबाबका कार्यक्रम गर्ने भेला तथा छलफलको निष्कर्ष रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले बताए।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर