सुदूरपश्चिमका किसानलाई मलकै दुःख, धनगढीबाट भैरहवा पुग्न थाले सहकारी सञ्चालक

धनगढीः सुदूरपश्चिम प्रदेशमा यसवर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धान खेती लगाउने समय सुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धान खेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ।

खेती लगाउने समय सुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नु परेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘किसानहरु मल नपाएर हैरान भएका छन्,’ उनले भने, ‘सहकारी सञ्चालक नै मल ल्याउन भैरहवा पुगेका छन्।’

मलको आपूर्ती गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको हो। तर ती निकायसँग अहिले मलको मौज्दात छैन। बर्खे सिजनमा नेपालभरका लागि यो वर्ष १ लाख ४२ हजार मेट्रिक टन मलको आयात हुने बताइएको छ। जसको ४२ हजार मेट्रिक टन साल्ट ट्रेडिङ र बाँकी कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने जिम्मा पाएको छ।

जम्मा आयात हुने मलको ९ प्रतिशत अर्थात १२ हजार बढी मेट्रिक टन मात्रै सुदूरपश्चिमका लागि निर्धारण गरिएको छ। तर सुदूरपश्चिममा मलको माग करीब ६० हजार मेट्रिक टन हुने गरेको छ। जसकारण किसानलाई मलको चरम अभाव हुने गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका निमित्त महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफ्नो कोटामा परेको मल असारमा पुग्ने बताए। ‘भैरहवा नाकामा असारसम्म मल पुग्छ,’ उनले भने, ‘त्यहाँबाट कसरी ल्याउने  भन्ने बारे छलफल भइरहेको छ।’

धान खेतीका लागि सुदूरपश्चिमले पाएको २ हजार बढी मेट्रिक टन डीएपी मल भैरहवामै रहेको छ। जसमध्ये सुदूरपश्चिमको सबैभन्दा बढी धान खेती हुने कैलालीका लागि १ हजार २ सय मेट्रिक टन मात्रै निर्धारण गरिएको छ। भैरहवा नाकामा कैलालीका लागि मल आए पनि इन्धनको मूल्यबृद्धिका कारण ढुवानी गर्न नसकिएको भन्दै सम्बन्धित निकाय पन्छिरहेका छन्।

उल्टै भैरहवाबाट १ हजार मेट्रिक टन मल ढुवानी गर्न सहकारी संस्थालाई नै अनुमति दिइएको छ। अहिले सरकारी सञ्चालकहरु नै उक्त मल ढुवानी गर्नका लागि भैरहवा पुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए। ‘सहकारीलाई मल ल्याउन हामीले नै अनुमति दिएका हौं। डिएपी र युरीया मलको मौज्दात छैन। भैरहवाबाट मल पुगे पछि केही सहज हुन्छ,’ उनले भने।

साल्ट ट्रेडिङले आफ्नो कोटामा परेको मल भने असार पहिलो सातासम्म मात्रै पुग्ने जनाएको छ। मलको सहज आपूर्ती नभएपछि कैलालीका किसानहरु सीमावर्ती भारतीय बजार समेत धाउन बाध्य छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर