विद्युतीय गाडी सञ्चालनका लागि लुम्बिनी विकास कोषले कार्यविधि बनाउँदै

लुम्बिनी आउने पर्यटक लुम्बिनी भित्र र बुद्धसर्किट क्षेत्रमा घुमाउन सहज होस् भनी एसियाली विकास बैंक (एडिबी) को करिब ३५ करोड अनुदानमा डेढ वर्ष पहिले विद्युतीय गाडी लुम्बिनी आईपुगेका थिए।

वातानुकुलित, अपाङमैत्री र स्वचालित ढोकासहितका पाँच वटा सुविधासम्पन्न बस र १४ वटा ट्याक्सी लुम्बिनी आएको डेढ वर्ष पुगे पनि गाडी कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नबन्दा खुल्ला आकाशमुनी अलपत्र अवस्थामा राखिएका छन्।

लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर विद्युतीय गाडी सञ्चालन गर्न र गाडी चार्जिङको लागि चार्जिङ स्टेशनसहित सोलार जडानका लागि सन् २०१८ जनवरी ९ तारिखमा एसियन क्लिन ईनर्जीसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार गाडी ल्याउने, सोलार जडान गर्ने र चार्जिङ स्टेशन बनाउने सम्पूर्ण काम पुरा भईसकेका छन्।

तर एडिबीले पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको नाममा पठाएका विद्युतीय गाडी सरकारले अहिलेसम्म लुम्बिनी विकास कोषलाई हस्तान्तरणसमेत गरेको छैन।

कोषका कोषाध्यक्ष भट्टराईले अबको पहिलो काम मन्त्रालयको नाममा रहेका विद्युतीय गाडीहरू कोषको नाममा ल्याउने र कार्यविधि बनाएर सञ्चालन गर्ने बताए।

‘कार्यविधि बनाएर दुई महिना भित्रै गाडी सञ्चालन गर्ने हाम्रो योजना छ, त्यो भन्दा पहिले गाडीलाई कोषको नाममा ल्याउने प्रकृया सुरू हुन्छ,’ भट्टराईले सेतोपाटीसँग भने।

सरकारले लुम्बिनीका लागि आएका गाडी कोषलाई हस्तान्तरण नगर्दा कार्यविधि बनाउन र सञचालन गर्न ढिलाई भएको उनले बताए। भर्खरै मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको र लुम्बिनीमा पर्यटकहरुको चाप समेत बढ्न थालेकोले जतिसक्दो छिटो विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने उनको भनाई छ।

‘गाडी ल्याउँदा नै पर्यटकलाई विमानस्थलदेखि लुम्बिनी ल्याउने र लुम्बिनी वरपरको क्षेत्रमा घुमफिरको लागि गाडी प्रयोग गर्ने भनिएको थियो, विमानस्थल र लुम्बिनी सर्किटभित्रै सञ्चालन गर्ने गरि नै कार्यविधि बनाउने योजना छ,’ उनले भने।

बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रूपन्देहीकै देवदहलगायतका क्षेत्र बुद्धसर्किट अन्तर्गत रहेको र ती क्षेत्रभित्र नै सञ्चालन  गर्ने गरि कार्यविधि बनाईने कोषको योजना छ।

भट्टराईले गाडी सञ्चालन हुने रूट र प्रक्रिया समेत कार्यविधिमै टुंगो लगाईने बताए।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर