नुवाकोटमा श्रीमती लिन गएका एक पुरूषको हत्या, ससुरासहित चार पक्राउ

नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्।

गत बिहीबार बिहान करिब ६ बजे उनको शव फेला परेको हो। प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटना बुधबार मध्यराति भएको थियो। ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो।

ससुरालीमा श्रीमती लिन आएका रहेछन्। श्रीमती माइतीमै बस्ने गर्थिन्। श्रीमान बेलाबेलामा श्रीमती लिन आउँथे,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘त्यो दिन पनि श्रीमती लिन आउँछु भनेर आएका थिए। तर श्रीमती नमानेपछि विवाद भएको रहेछ। त्यसैक्रममा घटना भयो।’

ज्ञानमाया त्यहाँ ८-१० वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्।

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो।

त्यसक्रममा उनीहरूले एकबहादुरको हात-खुट्टा बाँधेर दाउराको चिर्पटले कुटपिट गरी हत्या गरेको खुलेको हो।

नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर