प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना

चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत ५ वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति भई नसके पनि विकासले भने गति लिँदै गएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएसँगै केन्द्रीय पहुँचका कारण ठूलो बजेट आउन सफल भएको हो । माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार पहुँचकै कारण धेरै काम गर्न सकिएको छ । उनले भने, ‘माथि अध्यक्ष भएकै कारण म यहाँ उफ्रिन पाएँ र विकासले फड्को मार्‍यो ।’

ठाकुरको भनाइमा माडीमा विद्युतीकरणका लागि दाहाल निर्वाचित भएसँगै रु १८ करोड बजेट विनियोजन भयो । निर्वाचनअघिसम्म २७ प्रतिशत नागरिकले विद्युत्को उपभोग गरेकामा अहिले अधिकांश माडी विद्युतीकरण भएको छ । पहिले मुख्य सडकका क्षेत्रमा मात्रै विद्युतीकरण थियो ।

माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा स्थापना भयो । ढकालले दाहालकै पहलमा १० करोड रुपैयाँ बजेटसहित शिक्षालय स्थापना भएको बताए । जहाँ अहिले कृषि, स्वास्थ्य, इञ्जीनियरिङ विषयका पढाइ हुँदै आएको छ ।

विक्रम संवत् २०७४ साउन २७, २८ र २९ गते आएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि संघीय सरकारमार्फत ७ करोड विनियोजन भयो । जसले गर्दा माडी नगरपालिका–४, ५, ६ र ७ वडाका वासिन्दा लाभान्वित भएका छन् ।

माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि ५२ करोड रुपैयाँ विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७।८ किलोमिटर लम्बाइ र ७।५ मिटर चौडाइको उच्चस्तरको सडक बनाइँदै छ । सडकको ड्रेन र कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ । दाहालकै पहलमा काम भएको ढकाल बताउँछन् ।

विक्रम संवत् २०७४ सालको बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल अन्तिम चरणमा पुगेका छन् । रतनीखोलाको पुल बुधवारै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्रै बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि २० करोड रुपैयाँको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास बुधवारै गरिँदैछ ।

गत वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट २५ करोड रुपैयाँ विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदैछ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नम्बर वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम शुरू भएको छ ।

दाहालकै पहलमा हुलाकी सडकमा पर्ने खोलामा सबै पुल निर्माणको क्रममा रहेका छन् । कतिपय सम्पन्न भइसकेका हुन् । दाहाल निर्वाचित हुनुअघि कतिपय पुलको काम थालिएको भए पनि पछिल्लो समय भएको पहलका कारण काम छिटो भएको हो । निवर्तमान प्रमुख ढकालले ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुलका लागि यो वर्षको बजेटमा विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न २ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने ढकालको अनुमान छ ।

यससँगै माडीका वासिन्दा प्रत्यक्ष लाभान्वित हुने उनी बताउँछन् । यसको प्रत्यक्ष लाभ ठोरीसम्मका जनताले पनि पाउने उनको भनाइ छ । माडी वडा नम्बर ७ मा कालोपत्र गर्न २ करोड, बाँदरझुला विद्युतीकरणका लागि २ करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि २ करोड ४३ लाख, बघौडा अस्पतालका लागि २ करोड, दिवाकर स्मृति माविका लागि १ करोड ५० लाख, जनकल्याण माविका लागि १ करोड संघीय सरकारबाट बजेट प्राप्त भएको छ ।

चालू आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजनामार्फत २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धनका लागि २० करोड विनियोजन भएको उनले जानकारी दिए । यसै वर्ष ५ वटा डिपबोरिङ र १८ वटा स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् ।

यसका अतिरिक्त विभिन्न विकासका आयोजना माडीमा अघि बढेका हुन् । दाहालले सोझै मन्त्रालयमा माडीका आवश्यक आयोजनालाई सम्बोधन गर्न आग्रह गरेसँगै आयोजनाले मूर्तरूप लिएका हुन् । स्थानीय तहमा आवश्यकताको छलफल गरी अनुरोध गरेसँगै बजेट निकासा गराउन सफल भएको ढकालको भनाइ छ ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै संघीय बजेट परेको भन्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताइन् । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । संघीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसंख्या छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर