रहेनन कांग्रेस नेता जोशी

अत्रिदेव खबर\१३चैत
काठमाडौं– अस्पतालमा करिब एक महिना बिताएपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको मृत्यु भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको हो ।

गत फागुन १४ गते बिहान बाँया हात र खुट्टा बाउँडिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। अस्पताल आउँदासम्म बोलिरहेका उनी त्यसपछि भने बेहोस भएका थिए। वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताललमा रिफर गरिदिएका थिए ।
राति नर्भिक पुग्दा उनी लगभग कोमामा पुगिसकेका उनको उपचारको नेतृत्व गरेका न्युरो सर्जन राजीव झाले सोही दिन अपराह्न पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए। ‘राती साढे ३ बजे नर्भिकमा आइपुग्दा उहाँ कोमामा हुनुहुन्थ्यो,’ डा झाले भनेका थिए, ‘श्वास फर्ने गाह्रो भइरहेको थियो, वान्ता भएर वान्ता उहाँको फोक्सोमा पुगेको अवस्था थियो।’

डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा श्वास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। घाँटीबाट वान्ता भएको वस्तु निकालिएको थियो। नर्भिक अस्पतालमा आइपुग्दा नै नेता जोशीको आँखाको दुवै नानी फुलिएको पाइएको पनि उनले बताएका थिए। उनले नर्भिक अस्पतालमा पनि फेरि सिटिस्क्यान गरिएको र सो रिपोर्टमा टाउकोमा पानी जमेको पाइएको पनि बताएका थिए।

नेता जोशीले सुगर, प्रेसरको समस्या भएको र रगत पातलो हुने औषधि सेवन गरिरहेकाले शल्यक्रिया गर्दा रगतश्राव कन्ट्रोल नहुने भएकाले विशेष व्यवस्था गरेर सर्जरी गरिएको डा झाले बताएका थिए। उनले जोशी जस्ता बिरामीलाई बचाउन सक्ने सम्भावना ३० प्रतिशत मात्रै हुने जानकारी गराएका थिए।

उपचारको क्रममा एक समय जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुनथालेको थियो। तर, त्यो निरन्तर रहन सकेन। बरु स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उनको उपचारका लागि सरकारले दश लाख दिने घोषणा गरेको थियो। तर, उनको परिवारले त्यसलाई अस्वीकार गरिदिएको थियो।

को हुन् जोशी?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी २०२० पुस २४ गते काठमाडौंमा जन्मिएका थिए। उनले विज्ञान संकायमा स्नातक र वाणिज्य संकायमा स्नातकोत्तर गरेका थिए। उनकी एक छोरी छिन्।

जोशी २०३५ सालमा राजनीतिमा प्रवेश गरेका थिए। २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर भएका उनले राजनीति गर्ने क्रममा एक वर्ष जेल जीवन पनि बिताएका थिए। जोशी जनतासँग अन्त्यन्तै सम्पर्कमा रहने र निकट सम्बन्धमा रहने नेताको रुपमा चिनिन्थे।

२०७३ साउनमा गठित पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा जोशी उद्योगमन्त्री भएका थिए। भदौ १० मा मन्त्री पदको सपथ लिएका उनले बन्द रहेका सरकारी उद्योग खुलाउने कामलाई प्राथमिकता दिएका थिए। मृत्युशय्यामा रहेको नेपाल औषधि लिमिटेडले उत्पादन सुरु गरेपछि विशेष चर्चा पनि भयो। अहिले उसले सिटामोलदेखि स्यानिटाइजरसम्म उत्पादन गरिरहेको छ। काम गरेरै लोकप्रिय हुने मन्त्रीहरुको सूचीमा जोशी परे।

जोशी संविधान सभाका दुवै निर्वाचनमा विजयी भएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा उनले एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका थिए। काठमाडौं–८ बाट उम्मेदवार रहेका उनीहरु दुवैले क्रमशः ११ हजार ५ र ६ हजार ८ सय ७८ मत प्राप्त गरेका थिए।

त्यस्तै, २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा उनले एमालेका उम्मेदवार जीवनराम श्रेष्ठलाई पराजित गरेका थिए। सो निर्वाचनमा जोशीले १३ हजार ७ सय ७४ र श्रेष्ठले ६ हजार १ सय ६ मत पाएका थिए।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने जोशी श्रेष्ठसँगै पराजित भएका थिए। त्यतिबेला श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाउँदा जोशीले भने १२ हजार ९ सय ५३ मत पाएका थिए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर