पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका ओलि र रावल को हुन ?

अत्रीदेव खबर/२१चैत
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ। नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (माधव नेपाल निकट)  लगायतका विभिन्न १२ संगठन संयुक्त प्यानल र प्रेस चौतारी प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पत्रकार महासंघ महिला उपाध्यक्षमा प्रेस चौतारी प्यानलकी रेणु कार्की र सदस्य अल्पसंख्यक/अपाङ्गमा चौतारीकै नहकुल देव जीसी निर्विरोध निर्वाचित भइसकेका छन्। अब प्रदेश पत्रकार महासंघको बाँकी १० पदका लागि ३२ जना चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा प्रेस युनियन सहितको संयुक्त प्यानलबाट योगेश रावल र प्रेस चौतारीका कृष्ण ओली चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

को हुन् रावल ?  

विगत २१ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका योगेश रावल कैलालीका पत्रकार हुन्। नागरिक दैनिकमा टीकापुरबाट काम गर्दै आएका रावल नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान महासचिव समेत हुन्। अघिल्लो चुनावमा रावल प्रेस युनियनबाट महासचिवमा निर्वाचित भएका थिए।

टीकापुरबाट प्रकाशित हुने सहस्राब्दी साप्ताहिकबाट संवाददाताको रुपमा पत्रकारिता सुरु गरेका रावलले कैलालीबाटै प्रकाशित हुने युगयान, हाम्रो जनसन्देश, टीकापुर टाइम्स, अनुमोदन, सेती समाचार, पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन्।

यस्तै, रेडियो पश्चिम टुडे,  राजधानी दैनिक, सगरमाथा टेलिभिजन, सेतोपाटी डटकममा काम गरेका उनी अहिले नागरिक दैनिक र हाम्रो पत्र डटकममा आबद्ध छन्।

रावलले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि आफ्नो उम्मेदवारी भएको बताए। पत्रकार विभिन्न १२ वटा पेशागत संगठनले आफूलाई साझा उम्मेदवारका रुपमा अघि सारेकाले महासंघलाई सक्षम नेतृत्व दिनसक्ने क्षमता रहेको उनी बताउँछन्।

रावलले पत्रकार महासंघमा सबैलाई समेटेर साझा चरित्रको संस्थाको गरिमालाई थप उचाइमा पुगाउने लक्ष्य रहेको जनाए।

को हुन् ओली ?

प्रेस युनियनसहितको १२ संगठनको संयुक्त प्यानललाई चुनौती दिदै प्रेस चौतारी प्यानलबाट अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका कृष्ण ओली २०६५ सालदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन्। पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको सेफर्ड कलेजमा मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गरेका ओली हाल नागरिक दैनिकमा काम गर्दै आएका छन्।

नागरिक दैनिकको बाजुरा संवाददाताका रुपमा कार्यरत ओलीले यसअघि विभिन्न मिडियामा काम गरिसकेका छन्। रेडियो बजुराबाट पत्रकारिता सुरु गरेका ओलीसँग सगरमाथा टेलिभिजनमा ३ वर्ष काम गरेको अनुभव छ।

राष्ट्रिय शिक्षा पत्रकारिता सहितका दर्जन बढि पुरस्कार पाइसकेका ओलीले श्रमजीवी पत्रकारहरुको हक अधिकार स्थापीत गर्न आफू कटिबद्ध रहेको बताए। मोफसल पत्रकारितालाई मूल धारमा ल्याउँदै रेडियो, टेलिभिजन र प्रिन्ट पत्रकारिताबीचको खाडल पुर्न उद्देश्य पनि रहेको उनले सुनाए।

पत्रकार महासंघलाई सक्रिय (नियमित लेख्ने) पत्रकारको संगठनको रुपमा स्थापित गर्न अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर