कैलाली स्थानीय तह निर्वाचन: कांग्रेसको एक्लै लड्ने दाबी, माओवादी र एस गठबन्धनमा हाबी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्य तालिका सार्वजनिक गरेपछि अहिले जिल्लामा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ ।

गठबन्धन हुने वा नहुने निश्चित नहुँदै स्थानीय तहमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूले दाबी गर्न थालेका छन् । गठबन्धन भित्र पनि कांग्रेस एक्लै निर्वाचनमा होमिए दुई तिहाइ जित्ने दाबी गरेको छ ।

‘हामी गठबन्धन गर्ने मनसायमा छैनौँ’ नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले भने, ‘ हामी एक्लै लड्दा पनि दुई तिहाइ ल्याउने पक्का छ । ’ गठबन्धन गर्ने वा नगर्ने कुरा केन्द्रको रहेको भन्दै अहिले सम्म त्यसमा कुनै छलफल नभएको उनले बताए ।

‘यो विषय केन्द्रको हो तर, अहिले सम्म यसमा कुराकानी भएको छैन’ उनले भने ‘हामी कैलालीमा एक्लै निर्वाचनमा होमिने अभियानमा छौँ । ’ यस अघि २०७४ सालको निर्वाचनमा कैलालीका धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी भएको थियो ।

त्यस्तै जानकी गाउँपालिका , टीकापुर नगरपालिका ,जोशीपुर गाउँपालिका र ,धनगढी उपमहानगरपालिका उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । कांग्रेस उपसभापति बडुवालले अहिले कांग्रेसको अवस्था निकै राम्रो भएको भन्दै एक्लै निर्वाचन लड्दा पनि १३ स्थानीय तहका स्पष्ट रूपले दुई तिहाइ स्थानीय तहका जित हासिल गर्ने दाबी गरे ।उनले अहिले नै गठबन्धन हुने अवस्था परिकल्पना गर्न नसकिने बताए ।

यता माओवादी केन्द्रले पनि एक्लै निर्वाचन लड्ने अवस्थामा १३ मध्ये ८ स्थानीय तहमा निर्वाचन जित्ने दाबी गरेको छ । यस अघि माओवादीले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा प्रमुख जितेको थियो भने कैलारी गाउँपालिकामा उपप्रमुखमा विजयी भएको थियो । कैलालीका अधिकांश स्थानीय तहका माओवादी दोस्रो भएको थियो ।

एमालेबाट उपाध्यक्ष निर्वाचित भएर एकीकृत समाजवादीमा प्रवेश गरेकि मोहन्याल गाउँपालिकाकी उपप्रमुख पनि अहिले माओवादीमा लागेकी छन् । माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डले अहिलेकै अवस्थामा कैलालीका ८ स्थानीय तहमा जित्न सकिने दाबी गरेका छन् ।

उनले कैलालीको टिकापुर, भजनी, कैलारी, गौरीगङ्गा, घोडाघोडी, चुरे र मोहन्यालमा एक्लै पनि जित्न सक्ने बताए ।
गठबन्धन हुने अवस्थामा यी स्थानीय तहमा पनि भागबन्डा हुन सक्ने उनको बुझाइ छ ।

‘गठबन्धन सबै ठाउँमा नहुन सक्छ । खास खास ठाउँमा हुन्छ ।’ उनले भने, ‘गठबन्धन नभए कैलालीका ८ स्थानीय तहमा हामी एक्लै जित्छौँ । गठबन्धन भएको अवस्थामा सबैमा हामीले दाबी गर्न नमिल्ला । केही काँग्रेसलाई छोड्नु पर्छ । केही समाजवादीलाई पनि दिनुपर्छ । ’

अघिल्लो निर्वाचनमा माओवादी दोस्रो भएको स्थानमा अहिले प्रमुखमा दाबी गर्ने उनले बताए । ‘हामी अघिल्लो पटक दोस्रो भएको ठाउँमा गठबन्धन भए हाम्रो दाबी रहन्छ’ उनले भने‘ प्रमुखमा कुरा मिलिसकेपछि उपप्रमुखमा पनि भागबन्डा हुन्छ । ’

यता एकीकृत समाजवादी पार्टीले पनि कैलालीमा तल्लो तह सम्मै गठबन्धन हुने दाबी गरेको छ। ‘गठबन्धन हुन्छ ’ एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने ‘कैलालीमा वडा सम्मै गठबन्धन हुन्छ ।’

कैलालीका १३ स्थानीय तह मध्ये एमाले हुँदा जितेका स्थानीय तहमा आफ्नो पार्टीले दाबी गर्ने उनले बताएका छन् । ‘हामी नेकपा एमाले हुँदा जुन जुन स्थानीय तह जितेका थियौँ ती सबै स्थानीय तहमा हाम्रो दाबी रहन्छ’ उनले भने ‘ती स्थानीय तहमा अहिले पनि हामी बलियो छौँ ।’

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिकाका उपप्रमुख तथा मोहन्याल गाउँपालिकाकी उपाध्यक्षले सनाखत गरेका थिए । अहिले मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पनि माओवादीमा लागे पनि कैलालीमा दुई स्थानीय तहका दुई उपप्रमुख मात्रै एकीकृत समाजवादीमा देखिएका छन् ।

एमालेले यस अघि कैलालीका ७ स्थानीय तहमा प्रमुख र ७ स्थानीय तहमा उपप्रमुख जितेको थियो । प्रमुखमा लम्की चुहा नगरपालिका , टीकापुर नगरपालिका , चुरे गाउँपालिका , गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका प्रमुखमा एमाले विजयी भएको थियो । उपप्रमुखमा भने टिकापुरमा बेहक अन्य छ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । भजनीमा माओवादीबाट निर्वाचित उपप्रमुख पनि नेकपाको निरन्तरता भन्दै एमालेमै रहेकी थिइन् ।

कैलालीका आधा भन्दा बढी स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा विजयी भएको एमालेले अहिलेको स्थानीय तह निर्वाचनमा पनि यस्तै नतिजा आउने दाबी गरेको छ ।

‘हामी पहिले भन्दा कमजोर भएका छैनौँ बरु बलियो भएका छौँ’ एमाले कैलालीका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नारदमुनी रानाले भने‘गठबन्धन गरेर जो –जो आए पनि हामी एक्लै हराउने अवस्थामा छौँ । ’

उनले कैलालीमा पार्टी विभाजनको असर खासै नपरेको दाबी गरेका छन् । एमालेबाट टुक्रिएर जाने भन्दा नेकपाको निरन्तरता स्वरूप एमालेमा आउने पूर्व माओवादीको सङ्ख्या बढी रहेको रानाको भनाइ छ ।

‘एमाले भनेको नेकपाको निरन्तरता पनि हो । त्यही निरन्तरतालाई स्वीकार गर्दै एमालेमा आउनुभएका कमरेडहरूको सङ्ख्या पनि अत्यधिक धेरै छ’ उनले भने ‘हामी पहिले भन्दा अझै बलियो भएका छौँ अझै शक्तिशाली भएका छौँ । ’उनले विगतमा जितेका स्थानीय तह अझै पनि जित्न सकिने दाबी गरेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर