पोखराका एमाले मेयर उम्मेदवार कृष्ण थापाको वडामा कांग्रेस विजयी

पोखरा महानगरमा एमाले मेयर उम्मेदवार कृष्ण थापाको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

 

थापाको वडा रहेको पोखरा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अमृत शर्मा तिमिल्सिना विजयी भएका छन्।

वडाध्यक्षमा अमृतले ३ हजार ३१८ मत पाएका थिए भने एमाले उम्मेदवार राजेश गुरुङले ३ हजार १७० मत मात्र पाएका थिए। गत निर्वाचनमा भने उक्त वडामा एमालेका जीवन आचार्य निर्वाचित भएका थिए।

वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भए पनि मेयरमा भने थापाले ९५४ मत बढी ल्याएका छन्। थापाले ३ हजार ४४६ मत पाउँदा गठबन्धनका उम्मेदवार धनराज आचार्यले २ हजार ४९२ मत पाएका छन्।

 

यस्तै, उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले ३ हजार ५६५ मत पाइन् भने कांग्रेसका कोपिला रानाभाटले २ हजार ६६९ मत पाइन्।

कांग्रेस नेता एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको वडा समेत रहेको पोखरा-१६ मा स्थानीयले मत साटासट गरेको देखिएको छ। मेयरमा आफ्नै वडाका उम्मेदवार थापालाई मत दिएका छन् भने वडा अध्यक्ष कांग्रेसलाई मत दिएर जिताएको मत परिणामले देखाएको छ।

पोखरा महानगरको हालसम्म १ लाख ७ हजार ९६२ मत गणना सकिएको छ।

 

अहिलेसम्मको मत परिणाम अनुसार पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ४३ हजार २१५ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले ३९ हजार ७९८ मत पाएका छन्।

यस्तै राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ४ हजार ८१५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६९३ मत पाएका छन्।

 

उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले ४४ हजार ९५० मत पाएकी छिन् भने कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत पाएकी छिन्। राप्रपाका उपमेयर उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले ४ हजार ७४१ मत पाएकी छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर