रेनु दाहाल भरतपुरमा फेरि मेयर बन्ने पक्का

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल फेरि मेयर बन्ने पक्का भएको छ।

 

आइतबार साँझसम्म ९८ हजार १ सय ७ मत गणना सक्दा दाहालले ३८ हजार ७ सय ८ मत पाएकी छन्। उनका निकटतम् प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ३० हजार १ सय ९२ मत पाएका छन्। उनीहरूबीच ८ हजार ५ सय १६ मतको अन्तर छ।

भरतपुरमा अब ९ वटा वडाको ३१ हजा २ सय ५५ मत गन्न बाँकी छ। त्योमध्ये पनि वडा नम्बर २१ र २२ को केही मत गणना भइसकेको छ।

मतपरिणाम सार्वजनिक भएका वडा र बाँकी वडाको विश्लेषण गर्दा एमाले उम्मेदवार सुवेदीले अब ‘कमब्याक’ गरेर दाहाललाई उछिन्ने सम्भावना एकदमै झिनो छ।

 

२० वडाको मतगणनाको तथ्यांक हेर्ने हो भने अहिलेसम्म सुवेदीले दाहाललाई तीन वडामा मात्रै लिड गरेका छन्। वडानम्बर २,३ र १२ मा सुवेदीले केही सयको लिड गरेका छन्।

एमालेले भरतपुरका २, १०, ११ र १२ नम्बर वडालाई आफ्नो गढ मान्छ। सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर ११ मा २०७४ को चुनावमा एमाले उम्मेदवार देवी ज्ञवालीले दाहाललाई ११ सयभन्दा बढी मतले लिड गरेका थिए। त्यही वडामा यसपालि सुवेदी दाहालसँग १६९ मतले पछि परे।

वडा नम्बर १८ सुवेदीको पुरानो गाउँ हो। त्यहाँ एमाले उम्मेदवारले वडाध्यक्ष जितेका छन्। त्यही वडामा दाहालले विजयलाई ६ सय मतले पछि पारिन्।

 

२० मध्ये पाँच वडामा एमालेले अध्यक्ष जितेको छ तर कुनै पनि वडामा सुवेदीले एमाले वडाध्यक्षले पाएको मत ल्याउन सकेका छैनन्।

एमालेले वडा नम्बर ३, ११, १२, १८ र १९ मा वडाध्यक्ष जितेको छ।

 

वडा नम्बर ३ मा वडाध्यक्ष जितेका विकास थापाले १६६६ भोट ल्याए। तर त्यो वडामा सुवेदीले १०२६ मात्रै मत पाए। वडा नम्बर ११ मा वडाध्यक्ष जितेका कमल मल्लले ३९३९ मत ल्याएका थिए। एमालेले सबै भन्दा ठूलो गढ मान्ने यो वडामा सुवेदीले आफ्नै वडाध्यक्षले भन्दा ६०२ कम भोट पाए।

भरतपुरको वडा नम्बर १९ नेपाली कांग्रेसको गढका रूपमा परिचित थियो। यो वडाको कांग्रेसको गढ यसपटक एमालेका प्रकाश तामाङले भत्काइदिएका छन्। तर मेयरका उम्मेदवार सुवेदीका लागि भने यो वडा पनि सुखद बन्न सकेन। यो वडाले उनलाई वडाध्यक्षलाई भन्दा ६४२ भोट कम दियो

वडा नम्बर ३ मा सुवेदीले पाएको मत गठबन्धनकी उम्मेदवार रेनु दाहालले पाएको भन्दा ४१ ले बढी थियो। उनले वडाध्यक्ष जितेको अर्को वडा ११ नम्बरमा दाहालले भन्दा १६९ भोट कम पाए। वडा नम्बर १२ मा दाहालले भन्दा सुवेदीले २७५ भोट बढी पाएका थिए।

 

वडाध्यक्ष जितेका वडाहरू १८ र १९ नम्बरमा सुवेदीले दाहालले भन्दा ६४० र ८९ भोट कम पाए।

मतगणनामा सहभागी नेकपा एमालेका प्रतिनिधिकाअनुसार वडाध्यक्षमा भोट हालेका धेरै एमालेकै कार्यकर्ताले मेयरमा सुवेदीलाई भोट दिएका छैनन्।

 

‘बरू एकीकृत समाजवादीको भोट पनि हाम्रा वडाध्यक्षलाई आएको देखियो,’ ती प्रतिनिधिले सेतोपाटीसँग भने, ‘कतै त एकीकृत समाजवादीले एमालेको वडाध्यक्षमा हाल्ने र एमालेले गठबन्धनको मेयरमा भोट हाल्नेगरी सेटिङ नै भएको जस्तो देखियो।’

अब गन्न बाँकी वडामा पनि सुवेदीले अन्तिम परिणामलाई उल्टाउने गरी मत ल्याउने सम्भावना छैन। गन्न बाँकी वडाहरूलाई त उसले आफ्ना गढ पनि मान्दैन।

 

अब एमालेलाई अलिअलि आशा वडा नम्बर २३, २५, २७ र २८ मा छ। यी वडा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्रमा पर्छन्। एमाले र राप्रपाले भरतपुरमा मेयर र उपमेयर गठबन्धन गरेका छन्।

गठबन्धनका कारण ती चार वडामा राप्रपाको केही मत सुवेदीलाई आउन सक्छ। तर अहिलेसम्मको ट्रेन्डले राप्रपाको सबै मत सुवेदीलाई गएको देखिँदैन।

 

२०७४ को मत गणना हेर्दा पनि बाँकी वडामा एमालेले उल्लेख मत पाउने सम्भावना छैन। किनकी त्यतिबेला पनि ज्ञवाली र दाहालले यी वडामा उस्ताउस्तै मत पाएका थिए।

वडा नम्बर २१ मा ज्ञवालीले १४७० मत पाउँदा दाहालले १८३१ मत ल्याएकी थिइन्। वडा नम्बर २२ मा ज्ञवालीको १०५१ र दाहालको १२०४ मत थियो। वडा नम्बर २३ मा ज्ञवालीले १०७९ मत ल्याउँदा दाहालले ९९५ मत पाएकी थिइन्।

 

वडा नम्बर २४मा ज्ञवालीले ६६२ र रेनु ४९८ मत पाएका थिए। वडा नम्बर २५ मा ज्ञवालीले १२०५ मत पाउँदा दाहालले १३५० मत ल्याएकी थिइन्।

वडा नम्बर २६ मा ज्ञवालीभन्दा दाहालले झन्डै पाँच सय मत बढी पाएकी थिइन्। उक्त वडामा ज्ञवालीले ९४१ र दाहालले १४११ मत ल्याएका थिए।

 

वडा नम्बर २७ मा ज्ञवालीले दाहाललाई पछि पारेका थिए। ज्ञवालीले ११४४ मत ल्याउँदा दाहालले ६९७ मत मात्र पाएकी थिइन्।

वडा नम्बर २८ मा ज्ञवालीले ८३८ र दाहालले ४४२ मत पाएका थिए। २९ नम्बर वडामा ज्ञवालीले १२२० मत ल्याउँदा दाहालले ८८० मत पाएकी थिइन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर