विद्रोह गरेर गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन ‘विप्लव’को आव्हान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन् ।

गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे । उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सबै कुराहरुलाई केन्द्रीत गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने । ठीक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस् । मान्छेबाट गल्ती हुन्छ । तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढे । उहाँ बडो क्रान्ति गर्न गएको ।’

उनले थप भने, ‘के छ चितवनको डकुमेन्टमा ? एउटा केही पनि फरक छैन । कार्यक्रम – समाजवादी । हामीले पास गरेकै छौँ । रणनीति – समाजवाद प्राप्त गर्ने । हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । कार्यदिशा – एकिकृत जनयुद्ध । व्याख्या हेर्नुभयो भने एकिकृत जनक्रान्तिको सुस्पष्ट व्याख्या जो छ हाम्रो यो पनि त्यो पनि जस्तो मान्छे हुनुहुन्छ, त्यस्तै थुपार्नु हुन्छ । नेताहरुको स्वभाव अनुसार त्यो देखिएको छ । कार्यनीति हे¥यो – स्वाधिन संयुक्त सरकार । हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह, वैज्ञानिक समाजवाद ।’

उनले फेरि भने, ‘खोई कहाँ जाने हो तपाईहरु ? त्यसैले आवेगबाट । एकछिन उत्तेजनाबाट, कुण्ठाबाट । त्यसरी हुँदैन आन्दोलन । नेपालमा त सयवटा भन्दा बढी पार्टीहरु छन् एउटा थप्ने कुरा ठुलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने । होल नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जानेकुरा हामी सबैले त्यहाँ ध्यान दिनुपर्छ । असहिष्णुता, कुण्ठा, प्रतिशोध बोकेर हिड्ने नेताले आफ्नै परिवारलाई पनि मिलाउन सक्दैन । यो कुरा निश्चित हो । कमि कमजोरीहरु सच्याउनुस् । फर्किनुस् । त्यो सम्भव छैन ।’

त्यस्तै महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरेका छन् । उनले माओवादी जनतालाई मलमल र भूमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफूहरु एकताका लागि तयार रहेको बताए । उनले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गरे ।

उनले भने, ‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ । तपाई पुरानो ठाउँबाट फर्किनुस् न । माओवादी केन्द्रसँगका साथीहरुसँग साच्चिकै छलफल हुन्छ । तपाईहरु पुरानो ठाउँबाट फर्किनुस् । नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन । नेपाली

जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन । निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस् । हामी तयारै छौँ । किरणजी आउनुस् हामी तयार नै छौँ । तपाईहरु पनि सुध्रिनुस् ।’

उनले फेरि भने, ‘तपाईहरु सुध्रिनु हुन्न भने तपाईहरुको अन्त्यलाई भगवानले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो । त्यसैले त्यसरी जानु हुँदैन । म यहाँबाट अपील पनि गर्न चाहान्छु, जे जति साथीहरुले त्रुटी गर्नुभएको छ, कमीकमजोरीहरु भएका छन् । त्यसलाई सच्याउनुपर्छ । लहैलहैमा लागेका कयौँ इमान्दार साथीहरु हुनुहुन्छ । निकास नभएको बाटोमा यात्रा गर्नु हुदैन । हामी रुपान्तरित हुनुपर्छ । एक ठाउँमा जुट्नु पर्छ । सब एकतावद्ध बनौँ ।’

नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर