कैलाली, कञ्चनपुरमा बाढीको कहर, कैयौं घर डुबानमा

कैलाली, कञ्चनपुरको विभिन्न क्षेत्रमा डुबान भएको छ । अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो ।कैलालीको विभिन्न क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । धेरै घरहरुमा पानी पसेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार मोहना, पथरैया, काँढा, कान्द्रा, शिवगङ्गा, कटैनी लगायतका नदीनालामा आएको बाढीले डुबान भएको हो ।

भजनी नगरपालिका, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिकामा गरेर १६६ घर डुबानमा परेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।  जानकी गाउँपालिका–४ मा ८० र ७ मा ५८ घर डुबानमा परेको छ । पथरैया नदीमा आएको बाढी गाउँमा पसेको हो ।

यस्तै, जोशीपुर गाउँपालिका–३ मा काँढा नदीको बाढीका कारण पाँच घर डुबान भएको छ । कटैनी नदीमा आएको बाढीका कारण कैलारी गाउँपालिका–७ बड्का बसन्तामा १४ घर डुबेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा डुबानमा परेका तीन परिवारलाई नवज्योती विद्यालयमा सारिएको छ । मोहना नदीमा आएको बाढीले सो ठाउँमा डुबान भएको हो ।

यसैगरी, काँढा नदीमा आएको बाढी भजनी नगरपालिकाकाको वडा नम्बर २, ३, ८ स्थित काँढा, ढुसी, मोहनपुर, काँढाढिक गाउँका कैयौं घरमा पानी पसेको छ । करिब ४०० घर डुबानमा परेको भजनी नगरपालिका–२ मोहनपुरका गङ्गा चौधरीले बताए ।

‘घरमा पानी पसेपछि खाद्यान्न, लत्ताकपडा स्थानीयले सुरक्षित स्थानमा सारेका छन्’, उनले भने । यसैगरी, भजनी नगरपालिका–५ मा कान्द्रा नदीमा गरिएको तटबन्धबाट पानी ओभरफ्लो भएर छ घरमा डुबान भएको छ । चौधरीका अनुसार डुबान भएपछि स्थानीयलाई सतर्क पारिएको थियो ।

बिहीबारराति मोहना र शिवगङ्गा नदीमा बाढीले खतराको सङ्केत पार गरेको थियो । शुक्रबार विहानदेखि सबै नदीमा बाढी घटिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा कार्यरत चेतन खड्काले बताए । उता, कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा बिहीबारराति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।

शुक्रबार बिहान २ः०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाले भण्डारण गरेका अन्न भिजाइदिँदा क्षति भएको छ । केही घर भत्किने अवस्थामा छन् ।

‘बाढीले पु¥याएको क्षतिबारे विवरण सङ्कलन गरिरहेका छौँ’, वडाध्यक्ष चौधरीले भने–‘निकै क्षति गरेको छ, विवरण सङ्कलनपछि मात्रै क्षतिबारे जानकारी दिन सकिने छ ।’ नदीमा बाढी आएको बेलैमा थाहा पाउँदा मानवीय क्षति भने नभएको उनले बताए । झण्डै १० बिघा बढीमा किसानले लगाएको उखुसमेत नदीको बाढीले क्षति गरेको छ । स्थानीय बासिन्दा झक्कुप्रसाद चौधरीले नदीको बाढीले उखु ढलाएपछि लाखौँ क्षति भएको बताए ।

‘दुई दर्जन बढी किसानले खेतमा रोपेको उखु नदीको बाढीले ढलाइ दिएको छ’, उनले भने–‘चुरे क्षेत्रमा व्यापक वर्षा हुँदा अप्रत्यासितरूपमा क्षति व्यहोरेका छौँ ।’ नदीको बाढी खेतमा पस्दा किसानले रोपेको धानबालीसमेत बालुवाले पुरिदिएको छ । बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्रीसमेत बाढीले बगाएर नोक्सानी पु¥याएको छ ।

अहिले नदीको पानीको सतह घट्दो छ । नदीको पानीको सतह घट्दै गर्दा जग्गा कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताए । पानी पर्ने क्रम अझै जारी रहेका कारण स्थानीयवासी त्रासमा छन् ।
यसैगरी दोदामा आएको बाढीकै कारण शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ । तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडाध्यक्ष बाले रानाले बताए । स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ ।
उद्धार र क्षति
नदी र खोलाको बीच भागमा फँसेका कैलालीका दुई जनाको मध्यरातमा सुरक्षित उद्धार गरिएको छ । घाँस काट्न गएका गौरीगङ्गा नगरपालिका–३ कुचैनीका दाईबहिनी राजाराम सापकोटा र १८ वर्षीया आरतीको सुरक्षाकर्मीको टोलीले राति १२ बजे उद्धार गरेको हो । उनीहरु शिवगङ्गा नदी र झिल खोलाको बीच भागमा फँसेका थिए ।

नदी र खोलामा बाढी आएर फँसेका दाईबहिनीको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार बिहीबार घाँस काट्न गएका दाईबहिनी नदी र खोलाको बीच भागमा फँसेका थिए ।

उनीहरुको उद्धारका लागि ५० जनाभन्दा बढी सुक्षाकर्मी खटेका थिए । डुङ्गाको मद्दतले दुवै जनाको उद्धार गरिएको जोशीले बताए । यसैबीच, अविरल वर्षाका कारण बिहीबारराति लम्कीचुहा नगरपालिका–३ का गोपाल चौधरीको घर भत्किएको छ । घर भत्किँदा ७५ वर्षीय चौधरी र उनकी ७२ वर्षीय श्रीमती सामान्य घाइते भएका हुन । दुवै जनाको स्थानीय क्लिनीकमा उपचार भएको छ ।

यस्तै, गोदावरी नदीमा आएको बाढीले गोदावरी नगरपालिका–४ का गणेशदत्त पाण्डेयको नास्ता पसल बगाएको छ । नदीले कटान गरेर पाण्डेयको पसल बगाएको हो । बाढीले सोही ठाउँमा रहेको प्रतिक्षालयसमेत बगाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसैबीच, टीकापुर नगरपालिका–५ मा रहेको शाहीपुर गाउँ जोखिममा परेको छ । कटान गर्दै कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । जोखिम बढेपछि गाउँवासीलाई सतर्क पारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । कटान नियन्त्रणका लागि बोरामा बालुवा हालेर किनारमा तटबन्ध जस्तो बनाउने कार्य भइरहेको जोशीले जानकारी दिए ।

यसैगरी, चुरे गाउँपालिका–५ गोपालेका मिलबहादुर राना मगरको दुई कोठे कच्ची घर वर्षाका कारण भत्किएको छ । त्यस्तै, मानबहादुर थामी मगर, सुरतबहादुर थापा र मनोज राईको घर पहिरोको जोखिममा परेको छ । यस्तै, चुरे गाउँपालिका–६ मथुरिया बस्ने भागीराम नेपाली र जोगा चुनाराले संयुक्त रुपमा बनाएको बाख्रा खोर भत्केर चार बाख्रा मरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर