मेयरका उम्मेदवार चन्दले झुपडीबाट देखेको धनगढी बनाउने सपना

बाँयापट्टी तीन तले पक्की घर र दाँयापट्टीको पक्की घरमा एउटा होटल । बीचमै छ, टायलले छाएको भुँइ तले घर । उक्त घर धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार रणबहादुर चन्दको हो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर चन्दकै घर हो ।

करीब ३० वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति गरिरहेका चन्दको यो घर धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीमा छ । शहीदगेटदेखि क्याम्पस चोक जोड्ने मुख्य सडकमै भएपनि अहिलेसम्म उनको घरले पक्की छानो पाएको छैन ।

पार्टीले धनगढी उपमहानगरपालिकाको टिकट दिएपछि घरमा भेट्न पुग्ने नेता, कार्यकर्ता, शुुभेच्छुक सबैको चहलपहल बढेको छ तर पर्याप्त ठाउँ अभावमा उनी छेउमै रहेको होटलमा भेटघाट गर्न थालेका छन् ।

जीवनका करीब चार दशक सोही उत्तरबेहडीको झुपडीमा बिताएका चन्दले धनगढी उपमहानगरपालिकाको मेयरको टिकट पाउन भन्ने आशा नै गरेका थिएनन् तर पार्टीले विश्वास गरेर उनैलाई टिकट दिएपछि  चन्द त्यही झुपडीबाट समृद्ध धनगढी बनाउने सपना कोर्न थालेका छन् ।

बिहान ४ बजे उठेर नृत्यकर्म सके लगत्तै चन्दको दैनिकी शुरु हुन्छ । घरमा भेटघाट गर्न पुगेका नेता, कार्यकर्ता, शुुभेच्छुक तथा आफन्तसँग भेटघाट गरिसकेपछि उनी आफ्नै झुपडीमा पाकेको मिठोमसिनो खाएर मतदाता भेट्न नगरबासीको घर–घरमा पुग्छन् ।

दिनभरी कहिले अटो रिक्सा, कहिले साइकल त कहिले पैदल हिंडेर मत माग्छन् । दिनमा मात्र होइन रातिको समयमा समेत उपमेयरकी उम्मेदवार कन्दकला रानासहितका कैलाली इन्चार्ज नारदमुुनी राना, उपाध्यक्ष दुर्गाप्रसाद जोशी लगायतका नेताहरुलाई साथमै लिएर पनि मत माग्नमा व्यस्त छन् उनी ।

 

चन्द चुनावी प्रचारबाट कहिले राति १२ बजे, कहिले १ त कहिले २ बजे मात्र घर पुग्छन् । घरमा पुगेपछि दिनभरीका गतिविधिको समिक्षा गर्दै नगरबासीका माग र मुद्दाहरुलाई क्रमबद्ध रुपमा डायरीमा जतन गरेर राख्छन् । उनी भोलि चुनाव जितेपछि योजना बनाउन सहज होस् भनेर वडागत रुपमा छुुट्टै नोट तयार गरिरहेका छन् ।

राजनीतिमा लागेका अधिकांश नेताहरुले राजनीतिक सेवा नभएर पेशा बनाएर छोटो समयमै महलहरु ठड्याएका उदाहरण तपाई हाम्रो सामू असंख्यक छन् । तर चन्दले भने राजनीतिलाई पेशा नभएर सधै सेवा बनाएकै कारण अहिलेसम्म एउटा पक्की घर सम्म जोड्न पाएका छैनन् ।

तत्कालीन स्थानीय निकाय हुँदा उनी सर्वदलीय संयन्त्रमा नबसेका पनि होइनन् । करीब ५ वर्षसम्म सर्वदलीय संयन्त्रमा बसेपनि उनले कहिल्यै पनि लामो हात गरेनन् । उनीसँगै उक्त संयन्त्रमा बसेकाहरुले घर घडेरी जोडे तर चन्दले आर्थिक लोभमा परेर व्यक्तिगत लाभ लिने काम गरेनन् ।

यद्यपी उनले सो समयमा नगरबासीको हितमा हुने थुप्रै काम गरे । चन्द फेरी धनगढी उपमहानगरपालिकाको मेयर भएर नगरबासीको सेवा गर्न चाहान्छन् । झुपडीबाट सुन्दर र समृद्ध धनगढी बनाउन देखेको सपना पूरा गर्न आफूलाई विजयी गराउन उनले आग्रह गरेका छन् ।

‘मलाई धनगढीको मेयर भएर व्यक्तिगत रुपमा मलाई लाभ लिनु छैन । यहाँको जनताका माझमा बसेर मैले करीब ३० वर्ष राजनीतिबाट प्रत्यक्ष रुपमा सेवा गरेको छु । त्यसैले मेरो बारेमा मैले आफै बयान गर्न आवश्यक छैन । मलाई मत दिनुस् । तपाईहरुले दिएको मत खेर जान दिने छैन,’ चन्द भन्छन् । उनले आफूले जनताको गरिबी, अभाव र अनेकन पीडाबारे आफू जानकार रहेको बताउँदै उहाँहरुकै सल्लाहमा योजना बनाएर लागु गर्ने समेत बताएका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर